जाजरकोट । जाजरकोटका भूकम्प प्रभावित बालबालिका भूकम्पका बारेमा जानकारी र सूचना लिनका लागि हिजोआज रेडियो सुन्न थालेका छन् ।
भूकम्पपछि उनीहरूले सुनेका अफवाह, गलत सूचना र वास्तविक्ताका बारेमा जानकारी दिनका लागि सामुदायिक रेडियोमा "हाम्रो पालो" शृङ्खला सुरु भएको छ ।
जाजरकोटको भेरी नगरपालिकाको रावत गाउँका लक्ष्मण नेपालीले छिमेकीको भए पनि रेडियोमा "हाम्रो पालो" सुन्ने गरेको बताउनुभयो ।
"मैले पनि बन्द भएको विद्यालय कहिलेदेखि सञ्चालन हुन्छ भनेर सीआईएनमा प्रश्न राखेको थिएँ र भेरी नगरपालिकाको सरले त्यसको उत्तर दिनुभएको रेडियोमा सुने ।" उहाँले भन्नुभयो "कुनै दिन मनमा भएको डर कसरी हटाउने भन्ने बारेमा पनि साथीहरूको प्रश्न बजिरहेको हुन्छ ।"
रावत गाउँकै रिया विश्वकर्माले आफूले रेडियोमा भूकम्पका कारण डर लाग्ने गरेको र यो कसरी हट्छ भनेर बोलेको कुरा सुनेर अरु साथीभाइले पनि खुसी मानेको सुनाउनुभयो । भूकम्पका बारेमा जानकारी लिनका लागि मात्रै नभएर बोल्ने बानी बसाल्न पनि आफूले रेडियोमा प्रश्न सोध्ने गरेको रियाको भनाइ छ ।
अभिभावक तथा सरोकारवालाले पनि जाजरकोट भूकम्पका कारण सबैभन्दा धेरै जोखिममा बालबालिका रहेको बताउँदै यस्तो विपद्को समयमा उनीहरूको मनमा रहेको डर हटाउन रेडियोले महत्वपूर्ण भूमिका खेल्न सक्ने बताएका छन् ।
जाजरकोटको भेरी नगरपालिकाका शिक्षा शाखा प्रमुख अमृत पुनले जिल्लाका बालबालिकाले "हाम्रो पालो"मार्फत उठाउने अधिकांश प्रश्न भत्किएका विद्यालयको पुनर्निर्माण, भत्किएको घरमा पुरिएका कापीकलम निकाल्न भइरहेको कामका बारेमा केन्द्रीत हुने गरेको बताउनुभयो ।
यस्तो अभ्यास भूकम्पछि बालबालिकामा देखिएको डर हटाउन र पठनपाठन सामान्य बनाउनका लागि सहयोगी हुने उहाँको टिप्पणी छ ।
मनोविद् गोपाल बोहराले सीआईएनले बालबालिकाका प्रश्नमा सरोकारवाला निकायका प्रतिनिधि, विज्ञबाट जवाफ लिएर प्रसारण गर्नु समयसान्दर्भिक काम गरेको धारणा राख्नुभयो ।
"प्रभाव त जुनसुकै उमेर समूहका मानिसमा जाजरकोट भूकम्पको छ । तर बाल मष्तिस्कमा छिटो प्रभाव पर्ने हुन्छ । यस्तो बेलामा उनीहरूलाई पुरानै अवस्थामा फर्काउनका लागि ध्यान दिएन भने लामो समयसम्म पनि यसको प्रभाव रहन सक्छ ।" मनोविद बोहराले थप्नुभयो ।
मनोचिकित्सक डा दिपेश भट्टराईले अभिभावक र बालबालिकाले भूकम्पपछि राम्रोसँग कुरा गर्ने वातावरण बनाउनका लागि पनि "हाम्रो पालो" जस्ता कार्यक्रमले सकारात्मक सहयोग गर्ने बताउनुभयो ।
"अभिभावक जति राहत, त्रिपाल, टेन्ट भनेर कुदिरहेका छन् । उनीहरूका बालबालिकाको मनमा डर छ । कसैले फेरि ठूलो भूकम्प आउँछ रे भनेर सुनाइदिएको छ । कसैले ठूलो पानी पर्छ रे भनेर सुनाइदिएको छ । तर यसबारेमा वास्तविक कुरा बताउने कोही नभएको बेलामा रेडियोले विज्ञ वा सरोकारवाला निकायको कुरा सुनाइदिएर राम्रो काम गरेको छ ।" मनोचिकित्सक भट्टराईले भन्नुभयो ।
सीआईएनको आईभीआरमा रेकर्ड भएका बालबालिकाको आवाजहरु सुन्दा पनि भूकम्पले विद्यालयहरूमा क्षति पुर्याएपछि कतिपय बिद्यालयमा टेन्टमा कक्षाहरु सञ्चालन भइरहेका छन्, कतिपय भवन चर्कीएका बिद्यालयका विद्यार्थीहरुमा त्रास देखिन्छ, बालबालिकाले पढाइमा धेरै समस्या भोगिरहेका छन् ।
ती प्रश्नहरुलाई सीआईएनले सम्बन्धित सरोकारवालालाई सुनाएर त्यसको समाधानको प्रयास गरिरहेको छ ।
सामुदायिक सूचना नेटवर्क (सीआईएन) ले सेभ द चिल्ड्रेनसँगको सहकार्यमा 'हाम्रो पालो' उत्पादन गर्दै आएको छ । साप्ताहिक क्याप्सुल मोडेल हाम्रोपालो हरेक आइतवार, बुधवार र शुक्रवारको बेलुकीको साझा खबरमा प्रसारण हुने गरेको छ ।
भूकम्प प्रभावित बालबालिकाको आवाज र जिज्ञासाहरू सङ्कलन गरेर त्यसको समाधान "हाम्रोपालो" मा खोजिन्छ ।
प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०८०, १३:२९