काठमाडौँ । नेपाल रेडक्रस सोसाइटीले जाजरकोट भूकम्प प्रभावितहरूका लागि विभिन्न राहत सामग्री उपलब्ध गराएको छ ।
सोसाइटीको विपद् व्यवस्थापन विभागका निर्देशक सागर श्रेष्ठका अनुसार भूकम्पबाट बढी प्रभावित जाजरकोट र रुकुम पश्चिमका नागरिकका लागि हालसम्म ३ हजार ९ सय ७० थान त्रिपाल, २ हजार ७ सय ८० थान कम्बल, २ हजार ८ सय थान म्याट्रेस, ७ हजार ४ सय १५ थान ‘डिगनिटी कीट’ र १ सय ३२ थान ‘हाइजीन कीट’ वितरण गरिएको छ । भूकम्प प्रभावित जिल्लामा खोज तथा उद्धार, राहत, विस्तृत लेखाजोखाको सर्वेक्षणलगायतका लागि नेपाल रेडक्रसका ३ सय ९० स्वयंसेवक परिचालन गरिएको पनि उहाँले जानकारी दिनुभयो ।
यसबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सोसाइटीका अध्यक्ष प्रा. सुदर्शनप्रसाद नेपालले सरकारको सहयोगी निकायको रूपमा भूकम्प प्रभावितलाई निष्पक्ष, तटस्थ र पारदर्शी रूपमा सेवा पुर्याउन रेडक्रस तत्पर रहेको बताउँदै भूकम्प प्रतिकार्य कार्यक्रमलाई प्रभावकारी बनाउन सञ्चार माध्यमको सहयोग महत्त्वपूर्ण रहेको जानकारी दिनुभयो ।
सोसाइटीका महामन्त्री भूपतिलाल श्रेष्ठले आफ्नो स्रोत र क्षमता अनुसार भूकम्प प्रभावितलाई सक्दो सहयोग पुर्याउने बताउँदै जीविकोपार्जन, खानेपानी, सरसफाइ र आवास निर्माणका क्षेत्रमा काम गर्ने बताउनुभयो । पत्रकारहरूको जिज्ञासालाई सम्बोधन गर्दै नेपाल रेडक्रस सोसाइटी केन्द्रीय विपद् व्यवस्थापन समितिका संयोजक विनोदकुमार बस्नेतले सरकारका स्थानीय तहसँगको समन्वयमा भूकम्प प्रतिकार्यका गतिविधिहरू सञ्चालन भइरहेको जानकारी दिनुभयो ।
रेडक्रसको अन्तर्राष्ट्रिय महासङ्घ (आईएफआरसी) का नेपाल प्रमुख अजमद् उल्लाहले भूकम्प प्रभावितहरूको सहयोगका लागि महासङ्घ र यसअन्तर्गतका साझेदार राष्ट्रिय सोसाइटीहरू नेपाल रेडक्रस सोसाइटीको साथमा रहेको बताउनुभयो । भूकम्प प्रभावित क्षेत्रमा अन्य सहयोगका साथै मानसिक स्वास्थ्य र मनोसामाजिक सहयोग अझ महत्त्वपूर्ण रहेको बताउनुभयो ।
प्रकाशित मिति: बुधबार, मंसिर २०, २०८०, १२:०९