रुकुम पश्चिम । अदालतको फैसलाले न्याय नमरेको साबित भएको भन्दै सोती घटनाका पीडितहरूले अदालतप्रति कृतज्ञता ज्ञापन गरेका छन् । अदालतले हिजो (मङ्गलवार) सोती घटनाका अभियुक्त २४ जनालाई जन्मकैदको सजाय सुनाएपछि खुसी भएका उनीहरूले आज अदालतमा फूल माला चढाउँदै ढोगेर कृतज्ञता ज्ञापन गरेका छन् ।
अन्तरजातीय प्रेम गरी विवाह गर्न खोजेको अभियोगमा रुकुमपश्चिमको चौरजहारी नगरपालिका ८ सोतीमा २०७७ साल जेठ १० गते जाजरकोटका नवराज विकसहित ६ जनाको ज्यान जाने गरी भएको हत्याको घटनामा न्यायाधीश खड्कबहादुर केसीको इजलासले २४ जनालाई जन्मकैद हुने फैसला गरेको हो ।
मृतक ६ जनाका परिवारका सदस्यले आफूहरूले न्याय पाएको भन्दै फूल चढाएर अदालतलाई ढोग्दै धन्यवाद दिएका हुन् । बाजागाजासहित अदालत नजिक पुगेका उनीहरूले अदालतको फैसलाले ‘न्याय मरेको छैन’ भन्ने पुष्टि गरेको प्रतिक्रिया दिएका छन् ।
घटनामा मृत्यु भएका नवराज विकका बुबा मुनलालले दोषीलाई जन्मकैदको सजाय भएकोमा खुशी लागेको बताउनुभयो । तर दोषीलाई विभिन्न बहानामा बिचमै छोडिने हो कि भन्ने चिन्ता रहेको बताउनुभयो ।
गोविन्द शाहीकी आमा भीमिकुमारी बुढाथोकी शाहीले लामो पर्खाइ र सङ्घर्षपछि न्याय पाएको बताउनुभयो । आफूहरूलाई न्याय नपाइने हो की भन्ने चिन्ता लागेका बेला अदालतले न्याय दिएको भन्दै उहाँले खुसी व्यक्त गर्नुभयो । तीन वर्ष देखि आफूहरू बेचैन अवस्थामा रहेकामा मङ्गलवारदेखि भने न्याय पाएको अनुभूति भएको उहाँको भनाई छ । ‘हामीले ६ वटा छोरा गुमाएका थियौँ, तर देश तथा विदेशका हजारौँ छोरा छोरीले हामीलाई साथ दिए र आज हामीले न्याय पाएका छौँ ।’
अर्का मृतक टिकाराम सुनारकी आमा लक्ष्मीले छोराहरूको आत्माले शान्ति पाउँदैन कि भन्ने डरको अब अन्त्य भएको बताउनुभयो ।
जिल्ला अदालत रुकुम पश्चिमका न्यायाधीश खड्कबहादुर केसीको इजलासले ले साढे तीन वर्ष अघि भएको घटनामा मङ्गलवार फैसला गर्दै २४ जनालाई जन्मकैदको सजाय सुनाएको थियो ।
अदालतका सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाले पुर्पक्षका लागि थुनामा रहेका २३ जना र तारेकमा रिहा भएका एक जना गरी २४ जनालाई जन्मकैदको फैसला भएको जानकारी दिनुभयो । उहाँकाअनुसार तत्कालीन वडा अध्यक्षसमेत रहेका डम्बर बहादुर मल्ल, डिल्लीबहादुर ठकुरी, प्रेमबहादुर ठकुरी, सन्तोष मल्ल, मोहन पुन मगर, मानबहादुर मल्ल, टोपबहादुर मल्ल, सर्वजित भनिने सविन पुन, तिलक चन्द, ईन्द्रबहादुर भनिने इर्दबहादुर ठकुरी, लिपेन्द्रकुमार मल्ल, हर्कबहादुर मल्ल, बिनोद मल्ल, नेत्रबहादुर मल्ल, रेशमबहादुर मल्ल, धनराज राना, नबिन कुमार घर्तीमगर, बिराज पुन मगर, भिमबहादुर पुन, रमित पुन मगर, बिष्णु मल्ल र नवराजकी प्रेमिका भनिएकि किशोरी र उनका बुबा र आमा रहेका छन् ।
अदालतले प्रेमिका भनिएकी किशोरी र उनकी आमालाई जातीय छुवाछुतमा दोषी ठहर गर्दै दुई वर्ष कैद र ५० हजार जरिवाना गरेको छ भने आठ जनालाई सफाइ दिएको छ ।
प्रकाशित मिति: बुधबार, मंसिर २०, २०८०, १५:०२