काठमाडौं ।
सरकारले विप्लव नेतृत्वको नेकपा वार्तामा आए रेड कार्पेट बिच्छ्याएर स्वागत गर्ने जनाएको छ ।
सरकारका प्रवक्ता समेत रहनुभएका सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले विप्लव नेतृत्वको नेकपा वार्तामा आए सरकारले रेड कार्पेट बिच्छ्याएर स्वागत गर्ने बताउनुभएको हो ।
विप्लवसँगको वार्ताको पछिल्लो परिणामबारे आज सीआईएनसँग कुराकानी गर्दै मन्त्री बाँस्कोटाले यस्तो बताउनुभएको हो ।
मन्त्रीपरिषद् बाट निर्णय गरेर वार्ता समिति नै बनाएर सरकारले प्रयास गर्दा समेत विप्लव वार्तामा नआएको भन्दै मन्त्री बाँस्कोटाले हिंसाले कसैको पनि हित नगर्ने भएकाले विप्लवले यस विषयमा बेलैमा सोच्नुपर्ने बताउनुभयो ।
बाँस्कोटाले भन्नुभयो, ‘उहाँहरुले के भन्न खोज्नुभएको, उहाँहरुको माग बुझिएको छैन । मैले बाहिर–बाहिर सुने अनुसार अहिलेको राजनीतिक व्यवस्था नै उपयुक्त नहुने, अहिलेको सत्ता नै उल्टिनुपर्ने जस्ता कुरा गर्दै हुनुहुन्छ रे । यदि त्यस्तै हो भने यो पार लाग्ने कुरा होइन । ’
सरकारका प्रवक्ता समेत रहनुभएका सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले विप्लव नेतृत्वको नेकपा वार्तामा आए सरकारले रेड कार्पेट बिच्छ्याएर स्वागत गर्ने बताउनुभएको हो ।
बाँस्कोटाले अगाडी भन्नुभयो, ‘आजको चेतना, आजको युग, आजको राजनीतिक व्यवस्था, जहाँ सम्पूर्ण जनताका मौलिक अधिकार, राजनीतिक अधिकार, आर्थिक र साँस्कृतिक अधिकार, व्यक्तिका अभिव्यक्तिका अधिकार, सम्पत्ति कमाउन पाउने अधिकार सुनुश्चित भएर हामी समाजवादतर्फ गइरहेका छौं भनें राजनीतिक रुपमा उहाँहरुको के असहमति हो ? खुल्ला पोलिटिक्स गर्न त उहाँहरुलाई राष्ट्रपति बन्न पनि बाटो खुल्लै छ, प्रधानमन्त्री बन्न पनि बाटो खुल्लै छ ।’
सरकार अब विप्लवलाई गलाउने रणनीतिमा हो कि फकाउने रणनीति पनि छ ? भन्ने प्रश्नमा बाँस्कोटाले भन्नुभयो, ‘गल्ने र गलाउने भन्ने प्रश्न रहेन, उहाँहरुको राजनीतिक उद्देश्य स्पष्ट हुनप¥यो, संविधानभित्र बसेर राजनीतिक गतिविधि गर्छु, संगठन बनाउँछु, दल चलाउँछु, चुनाव लड्छु भन्ने हो भने सीके राउतलाई त हामीले लिएर आएका छौं । हिंसात्मक गतिविधि छोड्नुप¥यो, शान्तिपूर्ण राजनीतिमा आउनुप¥यो, यस कुराको प्रतिबद्धता भइसकेपछि स्वभाविक रुपमा हामीलाई कसैलाई थुन्नुपनि छैन, कसैलाई निस्तेज गर्नुपनि छैन ।’
विप्लव वार्ताका लागि तयार भए राजनीतिक प्रतिबन्ध हट्न सक्नेतर्फ संकेत गर्दै मन्त्री बाँस्कोटाले भन्नुभयो, ‘उहाँहरुले अवाञ्छित गतिविधि गर्नुहुन्न भने ‘प्रतिबन्ध’को, चार अक्षरको एउटा शब्द लिएर झुन्डिरहनुपर्ने हामीलाई आवश्यकता छैन । विकास आजको प्रमुख ऐजेन्डा हो, न्यायपूर्ण समाज निर्माण सबैको दायित्व हो, त्यस दायित्वमा उहाँहरु हातेमालो गर्न आउनुहुन्छ भने रेड कार्पेट बिच्छ्याएर स्वागत छ । के चाहियो त्यो सबै दिन तयार छौं हामी ।’
प्रकाशित मिति: बुधबार, साउन १, २०७६, ११:१४