काठमाडौँ । नेपाल सरकार र अन्तर्राष्ट्रिय मकै तथा गहुँ सुधार केन्द्रबिच एक दशक लामो साझेदारी पत्रमा हस्ताक्षर भएको छ । नेपालमा कृषि क्षेत्रको उत्पादनमा बढोत्तरी र व्यवस्थित बजार प्रणालीलाई प्रोत्साहन गर्ने उद्देश्य रहेको यो साझेदारीले कृषि विज्ञानको अभिवृद्धि र नेपालको कृषि क्षेत्रको दिगो विकासमा योगदान पुर्याउने लक्ष्य राखिएको केन्द्रले जनाएको छ ।
समझदारीले नेपालको कृषि क्षेत्रमा दिगो प्रभाव हासिल गर्न दुवै पक्षको प्रतिबद्धताका साथै पारस्परिक अनुसन्धान र ज्ञान आदानप्रदान गर्नुका साथै नवीन प्रविधिको प्रयोगमार्फत नेपालका किसानले सामना गरिरहेका चुनौतीलाई सम्बोधन गर्ने तथा नेपालको कृषि विकास रणनीति (सन् २०१५(२०३५) मा योगदान पुर्याउने लक्ष्य राखेको छ । सहकार्य कृषि विज्ञानको उन्नति र किसानमा सकारात्मक परिवर्तनलाई बढावा दिनको लागि आफ्नो संयुक्त विशेषज्ञताको लाभ उठाउन फलदायी हुने विश्वास पनि लिइएको छ ।
समझदारी पत्रमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका तर्फबाट डा. गोविन्द शर्मा र केन्द्रका तर्फबाट गोभर्टस् ब्रामले हस्ताक्षर गर्नुभएको छ ।
केन्द्रले विश्वव्यापी खाद्य सङ्कटको खतराबाट मुक्त बनाइ विश्वमा थप लचिलो कृषि(खाद्य उत्पादन प्रणाली अपनाई स्वस्थ र समृद्ध समाज निर्माणमा योगदान पुर्याउँदै आएको छ । सहभागीमूलक अनुसन्धान, साझेदारी र प्रशिक्षण मार्फत, केन्द्रले मकै र गहुँ उत्पादन गर्ने देशहरूमा राष्ट्रिय कृषि अनुसन्धान र विस्तार सेवाहरूको नयाँ पुस्ता निर्माण र बलियो बनाउन मद्दत गर्दछ ।
यो साझेदारीले नेपालमा, विशेष गरी नेपाल कृषि अनुसन्धान परिषद् नार्कसँगको सहकार्य गर्ने प्रतिबद्धतालाई बलियो बनाएको केन्द्रले जनाएको छ । यो कार्यगत एकताले बाली विविधता अनुसन्धान र विकासका साथै नेपाली किसानको आवश्यकताअनुसार तयार गरिएका विभिन्न बालीका उन्नत जात उन्मोचन तथा सिफारिस गर्ने काममा सहयोग पुगेको केन्द्रले जनाएको छ ।
समझदारीले लामो समयदेखिको आपसी सम्बन्धलाई थप सुदृढ र विस्तार गर्नुका साथै अगामी दशकमा यिनीहरूको संयुक्त प्रयास र साझा लक्ष्य प्राप्तिका लागि एक रूपरेखा प्रदान गर्नेछ । केन्द्रले नेपालमा मकै र गहुँका उन्नत जातको आयात, कृषि यान्त्रिकीकरणमा सहजीकरण, डिजिटल माटोको नक्सा, डिजिटल प्रविधिमा आधारित बीउको सूचना प्रणालीको विकास, मानव संसाधन सुदृढीकरण, जलवायु परिवर्तनको अनुकूलन, एकीकृत माटोको उर्वरा शक्तिको व्यवस्थापन, लैङ्गिक समानता प्रवर्द्धन गर्दे सामाजिक समावेशीकरण र कृषि नीति निर्माणमा आवश्यक पहललगायत काम गर्दै आएको छ ।
सन् १९६० को दशकबाट अनौपचारिक आबद्धता सुरु भएको नेपाल र केन्द्रबिच सन् १९८५ मा औपचारिक साझेदारी सुरु भएको हो ।
प्रकाशित मिति: बिहीबार, मंसिर २१, २०८०, १५:२६