विष्णु सापकोटाले धेरै राजनीतिक टिप्पणी र साहित्यबारे केही लेखहरु अखबारमा लेख्नुभएको छ । साहित्यमै एमफिलको अध्ययन पूरा गरेर पनि राजनीतिक टिप्पणीकारका रूपमा बढी चिनिएका सापकोटा अहिले आफ्नो पहिलो पुस्तक अडिएका पाइला लिएर पाठकमाझ आउनुभएको छ ।
सापकोटाले २०५३ सालमा त्रिभुवन विश्वविद्यालयबाट अङ्ग्रेजी साहित्यको स्नातकोत्तर तहमा सर्वोत्कृष्ट स्थान हात पार्दै स्वर्ण पदक हात पार्नुभएको थियो । त्यसपछि त्रिविकै अङ्ग्रेजी केन्द्रीय विभाग र पूर्वाञ्चल विश्वविद्यालयमा अध्यापन गराउनुभएका सापकोटा चार वर्षदेखि एक अन्तर्राष्ट्रिय संस्थाको नेतृत्वदायी भूमिकामा कम्बोडियामा कार्यरत हुनुहुन्छ ।
बेलायतको क्याम्ब्रिज विश्वविद्यालयबाट अङ्ग्रेजी साहित्यमा एमफिल गर्नुभएको छ । अङ्ग्रेजी साहित्यमा उच्च शिक्षा हासिल गरेर केही बर्ष प्राध्यापन र केही पुस्तकको सम्पादन पनि गरिसकेर पनि पुस्तक लेखिनहालेका सापकोटाको पहिलो उपन्यास कस्तो होला भन्ने कुतूहल धेरैलाई हुने नै भयो । अझ उहाँका राजनीतिक टिप्पणी र अन्य लेखको विषय उठान र विश्लेषण मन पराउनेहरूलाई त उहाँको औपन्यासिक लेखन कस्तो होला भन्ने झन् ठुलो कुतूहल हुने नै भयो ।
मूलत: प्रेम कथामा आधारित ‘अडिएका पाइला’मा बौद्धिकता र दर्शनको पक्षलाई घोलिएको छ । उपन्यास पढिसकेकाहरूले सापकोटाको लेखन आम औपन्यासिक लेखनभन्दा केही भिन्न रहेको पनि बताएका छन् । लेखक सापकोटासँग ‘अडिएका पाइला’ को लेखनका साथमा समग्र पठनको आनीबानीबारे कुराकानी गरेका छौँ ।
प्रकाशित मिति: शनिबार, मंसिर २३, २०८०, १५:२४