काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सङ्घीयता कार्यान्वयनका लागि आवश्यक पर्ने ऐन कानुन केही समयभित्रै ल्याइने बताउनुभएको छ ।
सङ्घीयता कार्यान्वयनका लागि प्रहरी, कर्मचारी समायोजनसम्बन्धी ऐन नल्याइएको भन्दै काठमाडौँमा आएको मधेस प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्रीहरूसँग आज बिहान भएको छलफलमा प्रधानमन्त्रीले यस्तो बताउनुभएको हो ।
भेटमा सहभागी मधेस प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री कृष्ण प्रसाद यादवले आफूहरूको माग सम्बोधनका लागि प्रधानमन्त्रीले केही समय मागेको बताउनुभयो । आवश्यक ऐन कानुन ल्याउनका लागि प्रधानमन्त्रीको प्रतिबद्धतालाई आफूहरूले सकारात्मक रूपमा लिएको उहाँको भनाइ छ ।
सङ्घीयता कार्यान्वयनका लागि ऐन ल्याउने वातावरण बनाउन माग गर्दै मधेस प्रदेश सरकारको टोलीले आज नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललगायतका शीर्ष नेताहरूसँग पनि छलफल गर्दै छ ।
प्रकाशित मिति: आइतबार, मंसिर २४, २०८०, १२:३६