काठमाडौँ । १९ वर्ष मुनिको एसिया कप क्रिकेटमा नेपाल अफगानिस्तानसँग ७३ रनले पराजित भएको छ ।
२ सय ६२ रनको लक्ष्य पछ्याएको नेपाल ४१ औँ ओभरमा १८८ रनमा अलआउट भयो । नेपालका ओपनर अर्जुन कुमाल एक्लैले ९१ रन बनाए पनि अन्य ब्याटरले गतिलो योगदान गर्न नसक्दा नेपाल पराजित भयो ।
नेपालका देब खनालले २४, गुल्सन झाले १७, दीपक बोहोराले १५ र दिपेश कँडेलले ११ रन बनाउनुबाहेक अरुले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । यूएईमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा आएको अफगानिस्तानले ४९ दशमलव ३ ओभरमा अल आउट हुँदै २ सय ६१ रन बनाएको थियो ।
खराब शुरुवात गर्दै अफगानिस्तानले ३३ रन जोड्दा ३ विकेट गुमाए पनि चौथो विकेटका लागि ८१ रनको साझेदारी गर्दै खेलमा फर्केको थियो । उसका जम्सिद जद्रानले रिटायर्ड हट हुनु अघि १०६ तथा नुमन साहले ६० रन बनाए । नेपालका हेमन्त धामी, गुल्सन झा र सुवास भण्डारीले दुई दुई विकेट लिएका थिए । नेपालका हेमन्त धामी, गुल्सन झा र सुवास भण्डारीले दुई दुई विकेट लिएका थिए ।
पहिलो खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको थियो । नेपालले अब समूह चरणको अन्तिम खेलमा पर्सि मङ्गलबार भारतसँग खेल्नेछ ।
प्रकाशित मिति: आइतबार, मंसिर २४, २०८०, १८:३१