मोरङ । ताजपुरिया समुदायका अगुवाले आफ्नो संस्कृति र परम्परा संरक्षण तथा सम्बर्धनका लागि पहल गर्न राज्यसँग माग गरेका छन् । संविधानको भावना र मर्म अनुसार आदिवासी जनजातिको कला, संस्कृतिलाई संरक्षण र सम्बर्धन गर्नुपर्ने भन्दै उनीहरुले त्यसका लागि सरकारको ध्यानाकर्षण गराएका हुन् ।
ताजपुरिया समाज कल्याण परिषद्को २८ औं स्थापना दिवसका अवसरमा मोरङको रंगेली नगरपालिका–८ दर्बेशा बजारमा आयोजित कार्यक्रममा परिषद्का अध्यक्ष पूर्णलाल ताजपुरियाले समुदायको परम्परागत संस्कृति जोगाउनुपर्ने बताउनुभयो । ताजपुरिया समुदायको संस्कृति जोगाउन स्थापना दिवसले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उहाँको भनाइ थियो ।
परिषद्का पूर्व अध्यक्ष एवम् आदिवासी जनजाति महासङ्घका पूर्व महासचिव नित्यानन्द ताजपुुरियाले नटुवा, हुदुरधुरा, ढोलसोना लगायत सांस्कृतिक नाचहरू पछिल्लो समय लोप हुने अवस्थामा पुगेको बताउनुभयो । पूर्वी तराईको झापा र मोरङमा बसोबास गर्दै आएका ताजपुरिया जातिले संविधानले दिएको अधिकारको महसुस गर्न नपाएको उहाँले उल्लेख गर्नुभयो ।
कार्यक्रममा बोल्दै प्रतिनिधिसभाका सदस्य ऋषिकेश पोखरेलले ताजपुरिया जातिलाई विशेष स्वायत्त क्षेत्र घोषणा गर्न संसदमा माग गर्ने प्रतिवद्धता जनाउनुभयो । संविधानले दिएको अधिकारबाट संरक्षित क्षेत्र घोषणा गरिए ताजपुरिया समुदाय अघि बढ्न सक्ने बताउँदै सांसद पोखरेलले परिषद्ले लिएको लक्ष्य छिट्टै पुरा हुनेमा विश्वस्त रहेको बताउनुभयो ।
स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा झापा र मोरङबाट प्रतिनिधित्व गरेका टोलीहले नटुवा, हुदुरधुरा, ढोलसोना लगायत सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए । साथै जातीय पहिचानका केही परम्परागत र आधुनिक गीतको प्रस्तुति गरिएको थियो । राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा ताजपुरिया जातिको सङ्ख्या २० हजार ९ सय ८९ जना रहेको छ ।
प्रकाशित मिति: सोमबार, मंसिर २५, २०८०, १८:५५