काठमाडाैँ । प्रवासीका लागि प्रविधिको सुरक्षित प्रयोग गर्न सबैले सहकार्य गर्नपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।
राजधानीमा आयोजित एक कार्यक्रममा रोयल होलोवे युनिभर्सिटीका प्राध्यापक टिम अनविनले अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू र नेपालमा रहेका सबै संस्थाहरू मिलेर काम गरेमा सुरक्षित आप्रवासनका लागि धेरै काम गर्न सकिने बताउनुभयो । सरकारी निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घसंस्थाहरू, ट्रेड युनियनहरू तथा सञ्चार माध्यमहरूले यस्ता विषयमा मिलेर जानुपर्ने उहाँले बताउनुभयो । सबै संस्थाहरूले उत्पादन गरेका जानकारीमूलक विषयहरू एउटै माध्यममा उपलब्ध गराउने प्रयास गरेको उहाँको भनाइ छ ।
प्राध्यापक हरिचन्द्र नाथले प्रवासीका लागि प्रविधिको सुरक्षित प्रयोग सम्बन्धी तालिम सामग्री सार्वजनिक गर्ने र सहकार्य गर्ने उद्देश्यले कार्यक्रम गरिएको बताउनु भयो । प्रवासी श्रमिक र तिनीहरूका परिवारलाई मद्दत गर्ने उद्देश्यले धेरै अनलाइन तथा सूचनाका माध्ययमहरु सञ्चालन भए पनि अझै प्रभावकारी माध्यमको आवश्यकता भएर सुरक्षित आप्रवासन सम्बन्धी सूचनाको एकीकृत माध्यम परदेशी डट ओआरजी डट एनपी वेबसाइट तयार गरिएको उहाँले बताउनुभयो ।
वेबसाइटलाई वैदेशिक रोजगारबाट फर्केका हेममाया राना मगर, श्याम लामा र सङ्गीता थापाले सुरुवात गरेका थिए । सुरक्षित आप्रवासका लागि राष्ट्रिय सञ्जालका उपाध्यक्ष कृष्ण प्रसाद न्यौपाने, प्रवासी नेपाली समन्वय समितिका निवर्तमान अध्यक्ष कुलप्रसाद कार्की, पौरखीका संस्थापक अध्यक्ष मञ्जु गुरुङ लगायतले कार्यक्रममा मन्तव्य राखेका थिए ।
आर्थिक वर्ष २०७९/८० मा रोजगारीका लागि विदेश जान वैदेशिक रोजगार विभागबाट ७ लाख भन्दा बढी व्यक्तिले श्रम स्वीकृति लिएका थिए । यसले मुलुकभित्रै रोजगारीको सीमितताका कारण हरेक दिन २ हजारको हाराहारीमा नेपाली युवा बिदेसिने गरेको तस्बिर देखाउँछ । अधिकांश युवा खाडीका मुलुकहरू र मलेसिया जाने गरेकोमा पछिल्ला केही वर्षयता पूर्वी युरोपका मुलुकहरूमा पनि जान थालेका छन् ।
एकातिर रोजगारीका लागि जानेहरूको सङ्ख्या ठुलो छ, अर्कातर्फ त्यसरी जानेहरू सही जानकारीको अभावमा ठगिला पर्ने गरेका छन् । वैदेशिक रोजगारको प्रक्रियाका विषयमा जानकारीको अभाव हुनु, गन्तव्य मुलुकका विषयमा ज्ञान नहुनु, रोजगारीका लागि जान चाहनेहरूलाई उपयुक्त सीप सिकाउने संस्थाहरूको बारेमा जानकारी नहुनु मूलभूत रूपमा देखिएका चुनौतीहरू हुन् ।
यसै गरी वैदेशिक रोजगारसँग सम्बन्धित अन्य विषयहरू जस्तै, वित्तीय साक्षरता, विप्रेषणको सदुपयोग, कल्याणकारी व्यवस्था, गन्तव्य मुलुकमा स्वास्थ्य सम्बन्धी सुविधा, गन्तव्य मुलुकको हावापानी, संस्कृति, खानपान लगायतका विषयहरूमा पनि रोजगारीका लागि प्रवास जानेहरूमा अनभिज्ञता रहेको देखिन्छ । यसले रोजगारीका लागि प्रवास जानेहरूलाई थप चुनौती सिर्जना गर्ने गरेको छ ।
यसबाट सूचनाको खोजीमा रहेकाहरू लाभान्वित हुनेछन् । यसै गरी प्रविधि आधारित विषयको ज्ञानको अभावका कारण प्रविधिको सही प्रयोग गर्न नसक्दा पनि प्रवासी श्रमिकहरू ठगिला पर्ने वा समस्यामा पर्ने गरेका छन् ।
प्रकाशित मिति: सोमबार, मंसिर २५, २०८०, १९:५०