काठमाडौँ । नक्कली कागजपत्र बनाएर भिजिट भिसामा विदेश पठाएको अभियोगमा ३२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ट्राभल एजेन्सी सञ्चालक र सरकारी कर्मचारी समेत रहेको प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। गत असोज १९ गतेदेखि हालसम्म ३२ जनालाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडी बढाइएको जानकारी दिनुभयो ।
कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौरका अनुासर पक्राउ परेकामध्ये कन्सल्टेन्सी सञ्चालक ६ जना, प्रहरी एक जना, पूर्व प्रहरी एक जना, एयरलाइन्सका कर्मचारी २ जना र अन्य ११ जना रहेका छन् ।
उनीहरुमध्ये ९ जनामाथि सङ्गठित अपराधमा र १२ जनाको लिखत सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ । आठ जना धरौटीमा छुटेका छन् भने तीन जनाको प्रारम्भिकअनुसन्धान भइरहेको छ ।
पक्राउपर्नेमा वन्ट्रा ट्रिप अनलाइन ट्राभल्सका सञ्चालक मनुराज चौधरी, एचआर टुर्स एण्ड ट्राभल्सका सञ्चालक रामप्रसाद भण्डारी, होलिडेज एण्ड ट्राभल्सका सञ्चालक सरोज यादव, एसकेजे ट्राभल्सका सञ्चालक दिनेश ज्ञवाली, रिलेभेन्ट ट्राभल्सका सञ्चालक देवराज खनाल र एडभान्स म्यानेजमेन्ट मल्टी ट्रेनिङ सेन्टरका सञ्चालक गणेश पाण्डे रहेका छन् ।
यसैगरी अध्यागमन विभागका अध्यागमन अधिकृत नरवीर खड्का, नेपाल एयरलाइन्सका कर्मचारी अरविन यादव र होम पोखरेल पनि पक्राउ परेका छन् ।
प्रकाशित मिति: बुधबार, मंसिर २७, २०८०, १४:५८