काठमाडौँ । सेभ द चिल्ड्रेनले भूकम्प प्रभावितलाई ८०० वटा विन्टर टेन्ट वितरण गर्ने भएको छ । युरोपेली संघ अन्तर्गतको European Civli Protectoin and Humanitarian Operations (ECHO) को सहयोगमा प्राप्त भएका टेन्ट जाजरकोट र रुकुम पश्चिमका नागरिकलाई वितरण गरिने सेभ द चिल्ड्रेनले जनाएको छ ।
टेन्ट राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँगको समन्वयमा भूकम्प प्रभावित क्षेत्रमा ढुवानी गरिनेछ । २३ वर्ग मिटर क्षेत्रफलको बासस्थल प्रदान गर्ने यी टेन्ट अग्नि रोधक, जल रोधक र स्टोभयुक्त भएकाले प्रयोगकर्तालाई बढ्दै गरेको चिसो छल्न सहयोग पुग्ने छ ।
सेभ द चिल्ड्रेनलाई टेन्ट हस्तान्तरण गर्दै युरोपेली सङ्घका राजदूत भेरोनिक लोरेन्जोले भन्नुभयो- “जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितका लागि टेन्ट र अन्य सामान सहयोग गर्न पाउँदा युरोपेली संघलाई खुसी लागेको छ । यस सहयोगले भूकम्प प्रभावित क्षेत्रका महिला, शिशु, तथा ज्येष्ठ नागरिकको जीवन रक्षा गर्नेछ ।”
नेपालका लागि सेभ द चिल्ड्रेनका राष्ट्रिय निर्देशक हेदर क्याम्पबेलले भन्नुभयो, “भूकम्प प्रभावित क्षेत्रमा अत्यधिक चिसोका कारण धेरै व्यक्तिको मृत्यु भइसकेको छ । त्यहाँका अति प्रभावित घरपरिवार र सीमान्तकृत समुदायको संरक्षण सुनिश्चित गर्न अत्यावश्यक छ । युरोपेली संघद्वारा प्रदान गरिएका टेन्टले प्रभावित घरपरिवारलाई अस्थायी वासस्थान र संरक्षण प्रदान गर्नेछ, साथै उनीहरूको जीवन रक्षा गर्न सहयोग गर्नेछ ।”
गत कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु भएर गएको ६ दशमलव ४ म्यागनिच्युडको भूकम्पका कारण विशेषगरी बालबालिका, गर्भवती, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्ति बढी प्रभावित भएका छन् । यी सामाग्री सहयोगको अलावा, स्थानीय संस्थासँगको साझेदारी तथा सम्बन्धित सरकारी निकायसँगको समन्वयमा सेभ द चिल्ड्रेनले अति जोखिममा रहेका समुदायका तत्कालका आवश्यकता सम्बोधन गर्न निरन्तर काम गर्नेछ । सेभ द चिल्ड्रेनले युरोपेली संघबाट मानवीय सहायता स्वरुप ६ लाख युरो (८६ करोड ५५ लाख नेपाली रुपैयाँ) प्राप्त गरेको छ ।
प्रकाशित मिति: बुधबार, मंसिर २७, २०८०, १७:५३