काठमाडौँ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन युनेस्को र सेभ द चिल्ड्रेनबीच जलवायु परिवर्तन, शिक्षा र सञ्चारमा सहकार्यको घोषणा भएको छ । काठमाडौँमा आज आयोजित कार्यक्रममा युनेस्कोको काठमाडौँ कार्यालय र सेभ द चिल्ड्रेनले जलवायु न्याय, शिक्षा र सञ्चार अभियानसँग मिल्दोजुल्दो कार्यक्रम गर्ने गरी साझेदारीको घोषणा गरेका हुन् ।
दुवै संस्थाले महिला, बालबालिका लगायत सीमान्तकृत समुदायको अर्थपूर्ण संलग्नतामा जलवायु परिवर्तन कम गर्ने कार्यक्रम गर्न सकिने भएकाले सम्झौता पत्रमा हस्ताक्षर गरिएको जनाएका छन् । सहकार्यको प्रारम्भिक चरणको रूपमा, युनेस्कोले भूकम्पपछिको शिक्षा, सिकाइ र निरन्तरतामा केन्द्रित भएर सेभ द चिल्ड्रेनलाई जाजरकोट भूकम्प प्रतिकार्य कार्यक्रमलाई आर्थिक र भौतिक सहयोग उपलब्ध गराउने जनाएको छ ।
सम्झौता पत्रमा हस्ताक्षर पछि सेभ द चिल्ड्रेन–नेपाल र भुटान कन्ट्री अफिसका कन्ट्री डाइरेक्टर हेदर क्याम्पबेलले भन्नुभयो “युनेस्को र सेभ द चिल्ड्रेनबीचको साझेदारीले हामी सबैभन्दा सीमान्तकृत, विशेष गरी बालबालिका र केटीहरूसम्म पुग्ने कुरा सुनिश्चित गर्नेछ । हस्ताक्षर पछि युनेस्को राष्ट्रिय प्रतिनिधि माइकल क्रफ्टले भन्नुभयो “सेभ द चिल्ड्रेनसँगको साझेदारीले नेपालमा दिगो विकासलाई समर्थन गर्न र शिक्षा अनि सञ्चारका लागि महत्त्वपूर्ण काम गर्न सकिनेछ ।
साझेदारी सम्झौता बमोजिम दुवै संस्थाले जलवायु परिवर्तन शिक्षा र समावेशी शिक्षामा परिवर्तनकारी कार्यहरू गर्न मिलेर काम गर्न प्रतिबद्ध छन् । तिनीहरूले मिडिया, सूचना साक्षरता, डिजिटल साक्षरता र बालबालिकाहरूको आवाजलाई प्रवर्द्धन गर्न र गुणस्तरमा आधारित शिक्षाको लागि क्षमतालाई सुदृढ पार्नेछन् ।
सम्झौता अगाडि क्लाईमेट एक्सन नाउ अर्थात् जलवायु परिवर्तनको असर कम गर्ने कार्यमा युवा र बालबालिकाको संलग्नता विषयक छलफल कार्यक्रम भएको थियो । कार्यक्रममा कर्णाली, मधेस र बागमती प्रदेशका युवाको प्रस्तुति रहेको थियो भने उनीहरूले छलफल कार्यक्रममा सहभागिता जनाएका थिए ।
छलफलमा बालबालिकाले उठाएको प्रश्नको जवाफ दिँदै युवा परिषद्का कार्यकारी उपाध्यक्ष बस्नेतले युवा परिषद्ले युवाहरुको सहभागितामा जलवायु संरक्षणको काम अघि बढाउने बताउनु भयो । जलवायु न्याय वार्तालाप गर्दै युवा तथा बालबालिकाले स्थानीय सरकारलाई सचेत गराएको लगायतका विषयमा प्रस्तुतिहरू गरिएको थियो । प्लास्टिक रोक्नको लागि जनकपुरमा युवाले गरेको अभियानका साथै विषादीरहित तरकारी उत्पादनमा बागमती प्रदेशमा युवाले गरेको प्रयास लगायतका विषयमा प्रस्तुति गरी छलफल गरिएको थियो ।
प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०८०, १७:२४