सर्लाही । उखुको अनुदान र बक्यौता तत्काल तत्काल भुक्तानी गर्न तथा यस वर्षको मूल्य तोक्न माग गर्दै उखु किसानले आन्दोलन घोषणा गरेका छन् । नेपाल उखु उत्पादक महासङ्घसहित उखु उत्पादक समितिले आज हरिवनमा पत्रकार सम्मेलन गर यो वर्षका लागि उखुको न्यूनतम मूल्य प्रतिक्विन्टल ७५० रुपैयाँ कायम गर्न माग गरेका छन् ।
बक्यौता भुक्तानी गर्न पटक–पटक आग्रह गर्दा पनि सरकारले बेवास्ता गरेपछि आन्दोलन घोषणा गर्नुपरेको नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीले बताउनुभयो । सरकार आफैले गत वर्षको अनुदान रकम नदिएको र यो सिजनका लागि उखु काट्न ढिलो भइसक्दा समेत मूल्य नतोक्दा उखु सुकेर गइरहेकाले आन्दोलन गर्नुको विकल्प नभएको उहाँको भनाइ छ ।
मङ्सिर २५ गते कृषि मन्त्रालयले उखुको मूल्य प्रतिक्विन्टल ५६५ रुपियाँ कायम गर्न सिफारिस गरिएको थियो । तर किसानले यसमा असहमति जनाएका छन् । मङ्सिर १७ गते कृषि मन्त्रालयमा सरकार, उद्योगी र किसानका प्रतिनिधिबिच भएको त्रिपक्षीय वार्तामा उखुको मूल्य प्रतिक्विन्टल ५५१ रुपियाँ (अनुदान बाहेक) दिने सिफारिस गर्दा सो वार्तामा पनि उखु किसानका प्रतिनिधिले असहमति जनाएका थिए । गत वर्ष उखुको मूल्य प्रतिक्विन्टल ५४० (अनुदान बाहेक) कायम भएको थियो । त्यसमा सरकारले ७० रुपियाँ अनुदान दिएर ६१० रुपियाँ उपलब्ध गराउने निर्णय भएको थियो । गएको वर्षको ७० रुपियाँ सरकारी अनुदान रकम अझै किसानले पाउन सकेका छैनन् ।
यो वर्ष उखुको मूल्य निर्धारण गर्दा चिनीको बढेको बिक्री मूल्य, उखु उत्पादनमा लाग्ने हालको लागतको आधारमा न्यूनतम मूल्य ७५० रुपियाँ कायम गर्नुपर्ने अध्यक्ष मैनालीले बताउनुभयो । सर्लाहीका उखु किसानले आज जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापन पत्र बुझाएका छन् । सर्लाहीका उखु किसानले उखुको मूल्य तय नहुन्जेल चिनी उद्योग सञ्चालन हुन नदिने बताएका छन् । यस्तै भोली हरिवनमा उखु किसानको बृहत् भेला गर्ने र पर्सी शनिवार उखुको लाँक्रा बोकेर हरिवनमै पूर्व–पश्चिम राजमार्गमा प्रदर्शन गर्ने किसानको तयारी छ ।
पत्रकार सम्मेलनमा उखु किसान समेत रहनुभएका हरिवन नगरपालिकाका पूर्व प्रमुख गणेशप्रसाद प्रसाईँले किसानको जन, जोताइ, ढुवानी र मल खाद सबैमा मूल्य वृद्धि भएकाले सोही अनुसार उखुको मूल्य निर्धारण हुनुपर्ने बताउनुभयो । उखु किसानले राज्य नै छैन भन्ने महसुस गर्न थालेका प्रसाईँले बताउनुभयो ।
उखुको मूल्य निर्धारण नहुन्जेल उद्योग सञ्चालन नगरिदिन किसानको आग्रहपछि इन्दु शङ्कर चिनी उद्योग हरिवन, एभरेस्ट सुगर एन्ड केमिकल इण्डष्ट्रिज रामनगर महोत्तरी र अन्नपूर्ण चिनी उद्योग धनकौलसहितका केही चिनी उद्योगले उखु क्रसिङ सुरु गरेका छैनन् । उद्योगमा किसानले ल्याइसकेको उखु त्यसै राखिएको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०८०, १९:३४