काठमाडौँ । महोत्तरी जिल्ला अदालतले सशस्त्र प्रहरीका असई थमन विकको हत्या मुद्दामा नेकपा एमालेका नेता तथा संघीय सांसद लक्ष्मी महतो कोइरीलाई सफाइ दिएको छ । न्यायाधीश उद्ववप्रसाद भट्टराईको इजलासले प्रहरीका असई विकको हत्या मुद्दामा एमाले सांसद कोइरी र पवन कापरलाई सफाइ दिएको हो ।
ड्युटीमा रहेका सुरक्षाकर्मीलाई घाइते अवस्थामा अस्पताल लैजाँदै गर्दा एम्बुलेन्सबाट झिकेर हत्या गरेको अभियोगमा दायर गरिएको मुद्दामा अदालतले लोसपाका प्रदेश सांसद अभिराम शर्मालाई भने जन्मकैदको सजाय सुनाएको छ ।
अदालतले प्रदीप साह, सञ्जयकुमार साह, मोहन ठाकुर, रामाशंकर मिश्र, प्रदेश सांसद अभिराम शर्मा, सुरेन्द्र पाण्डे र धर्मेन्द्र रायलाई कर्तव्य ज्यान मुद्दामा ज्यानसम्बन्धी कसुर गरेकोले सोही १३९३० बमोजिम जन्मकैद सजाय सुनाएको अदातलका स्रेस्तेदार नुतन झाले जानकारी दिनुभयो ।
कोइरीसहित २८ जना जिल्ला अदालत महोत्तरीमा कर्तव्य ज्यान र २५ जनाविरुद्ध आगो लगाएको मुद्दा ०७२ फागुन २७ गते मुद्दा दर्ता भएको थियो ।
असई विकको हत्या मुद्दामा प्रदीप साह, सञ्जयकुमार साह र पवन कापर थुनामा छन् कोइरी र ठाकुर तारेख गुजारी फरार भएका थिए । जिल्ला अदालत महोत्तरीले कोइरीबाट एक लाख रुपैयाँ धरौटी लिइ २०७६ असोज २ गते तारेखमा राख्ने आदेश दिएकोमा उच्च अदालत जनकपुरले यो आदेश उल्ट्याएर कोइरीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।
उच्च अदालतको आदेश पछि महतो फरार सुचीमा छन् । फरार अवस्थामै नेकपा एमालेबाट महोतरी क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका कोइरी संसद्मा सफथ ग्रहण गरेपछि विवादित बनेका थिए ।
मुद्दामा जलेश्वर नगरपालिकाका पूर्वमेयर रामाशंकर मिश्र, लोसपाका प्रदेश सांसद अभिराम शर्मा, लोसपाका नेता सुरेश पाण्डे र जसपाका नेता धर्मेन्द्र राय सधारण तारेखमा थिए । कर्तव्य ज्यान मुद्दाका प्रतिवादीहरु रमेह प्रसाद साह, सविन्द्र चौधरी, चन्देश्वर साह, राजा चौधरी, देवेन्द्र चौधरी, नरेश साह, गोलु साह, हरिओम कुमार भगत, रविन्द्र राम चमार, रंजित साह, विकी साह, फुले यादव, रोहित कुमार शर्मा, लालबाबु विन, शम्भु साह, अनित ठाकुर, अनिल ठाकुर, देवेन्द्र यादव र पुर्वप्रदेश सांसद कोशलय यादव सहित २० जना फरार छन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०८०, १९:५२