काठमाडाैँ । उच्च अदालत पाटनले सुर्तीजन्य पदार्थ बिक्री रोक्ने काठमाडौँ महानगरपालिकाको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।
श्रीराम टोबाको उद्योग समेतले दायर गरेको रिटमा न्यायाधीशहरू जनक पाण्डे र ब्रजेश प्याकुरेलको इजलासले आज अन्तरिम आदेश दिएको हो ।अदालतले ‘रितपूर्वक उद्योग व्यवसाय सञ्चालन गरी कर तथा राजस्व समेत नियमित तिर्दै बुझाउँदै आएको अवस्थामा हाल काठमाडौँ महानगरपालिकाले सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन २०६८ को दफा ४ एवं काठमाडौँ महानगरपालिका जनस्वास्थ्य ऐन, २०८० को दफा ४२ लाई आधार मानी निवेदकहरूको बिक्री वितरण समेतमा पूर्ण प्रतिबन्ध लगाइएको छ भन्ने सूचनाले कानुन बमोजिम सञ्चालन गर्दै आएको उद्योग व्यवसायमा प्रतिकूल असर परी अपूरणीय क्षति हुने’ ठहर गरेको छ ।
रिट निवेदकहरूले आउँदो वैशाख १ गतेदेखि जैविक रूपमा सडेर जाने बायो डिग्रेडेबल प्याकिङ गर्ने नेपाल सरकारले व्यवस्था गरे अनुसारको प्याकिङका लागि थप लगानी गरी तयारी गरिरहेको भन्दै महानगरको निर्णय कार्यान्वयन नगर्न माग गरेका थिए ।
‘यसमा सुविधा सन्तुलन निवेदकहरूको पक्षमा विचारणीय देखिँदा स्वास्थ्य विभाग, काठमाडौँ महानगरपालिकाद्वारा मिति मंसिर १२ गते जारी गरिएको सूचना प्रस्तुत रिट निवेदनको अन्तिम टुङ्गो नलागेसम्म कार्यान्वयन नगर्न नगराउनु भनी विपक्षीको नाउँमा अन्तरिम आदेश जारी गरिएको छ,’ आदेशमा भनिएको छ।
प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०८०, १७:०१