सर्लाही । यस वर्षको उखुको मूल्य तत्काल तोक्न तथा पोहोर बेचेको उखुको अनुदान रकम उपलब्ध गराउन माग गर्दै उखु किसानले उखुको लाक्रासहित प्रदर्शन गरेका छन् । नेपाल उखु उत्पादक महासंघ, मिलगेट उखु उत्पादक समिति र किसान हकहित संरक्षण समितिको संयुक्त आयोजनामा किसानले हरिवनमा प्रदर्शन गरेका हुन् ।
हरिवनको कृष्ण चोकबाट सुरु भएको किसानको जुलुस इन्दुशंकर चिनी उद्योग अगाडीबाट पुनः कृष्ण चोकमा पुगेर विरोध सभामा परिणत भएको थियो ।
किसानले यो वर्ष उखुको मूल्य प्रतिक्विन्टल ७ सय ५० रुपैयाँ कायम हुनुपर्ने र सरकाले पोहोरको उखु बेचेवापतको प्रतिक्विन्टल ७० रुपैयाँका दरले दिनुपर्ने अनुदानमध्ये अहिलेसम्म २१ रुपैयाँ मात्रै प्राप्त भएकाले बाँकी ४९ रुपैयाँ तत्काल भुक्तानी गर्नुपर्ने नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनी मैनालीले बताउनुभयो । चिनीको मूल्य पोहोरभन्दा झन्डै ४० प्रतिशतले बढेको, उखुको उत्पादन लागत बढेकाकारण प्रतिक्विन्टल उखुको मूल्य ७५० रुपैयाँ माग गर्नुपरेको तर सरकार र चिनी मिल सञ्चालकले आनाकानी गरिरहेकाले आन्दोलन गर्नुपरेको उहाँले बताउनुभयो ।
मिलगेट उखु उत्पादक समितिका अध्यक्ष राजकुमार उप्रेतीले सरकारले पोहोरकै अनुदान रकम नदिएको र यसपटकको मूल्य पनि नतोकेर किसानमारा चरित्र उजागर गरेको बताउनुभयो । यसअघि कृषि मन्त्रालयमा भएको वार्तामा सरकारले उखुको मूल्य ५ सय ६५ प्रस्ताव गरेपनि आफूहरूले अस्वीकार गरेको उहाँले बताउनुभयो । पोहोर सरकारी अनुदानसहित उखुको मूल्य ६ सय १० रुपैयाँ तोकिएको थियो । समर्थन मूल्य तय नहुँदा किसानले उखु बेच्न पाएका छैनन् ।
प्रकाशित मिति: शनिबार, मंसिर ३०, २०८०, १७:४६