जाजरकोट । भूकम्पका कारण जाजरकोटमा मात्रै माहुरी पालन व्यवसायमा १ करोड १९ लाख रुपैयाँभन्दा बढीको क्षति भएको पाइएको छ ।
गएको कातिक १७ गते राति गएको भूकम्पले जाजरकोट जिल्लाको पिपे, मैदे, रिसाङ्ग, पाली, कल्पत, डाडाँगाउँ, कैना, कट्के, टट्टा, करुवा, लहँ, रामीडाँडा र सिर्पाचौरमा १ करोड १९ लाख लागतको मौरी नष्ट भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले जनाएको छ ।
भूकम्पपछि जाजरकोट र रुकुम पश्चिमका १० वटा रेडियोमा दैनिक प्रसारण भइरहेको कार्यक्रम "जीवनरक्षमा" परियोजनाका जाजरकोट प्रमुख दीपेन्द्र पोखरेलले माहुरी र महमा भएको क्षतिको बारेमा जानकारी दिनुभएको हो ।
प्रभावित किसानलाई के कस्तो सहयोग गर्ने भन्ने बारेमा छफल भइरहेको पनि उहाँले बताउनुभयो । आर्थिक, प्राविधिक दुबै सहयोगको बारेमा कुराकानी भइरहेको पोखरेलले जानकारी दिनुभयो ।
कार्यक्रममा किसानहरूले माहुरी र मह नष्ट भएको, सुन्तला जातका फलफूलको व्यवस्थापनका लागि चिस्यान केन्द्र नभएको लगायत बारेमा प्रश्न राखेका थिए ।
भूकम्पले आधुनिक, मुढे र खोपे गरी १ हजार ४८ घार मौरी नष्ट भएका छन् ।
रेडियो खलङ्गाले रुकुम पश्चिम र जाजरकोटका सामुदायिक रेडियोको सहकार्यमा दैनिक रूपमा जीवनरक्षा कार्यक्रम उत्पादन गर्दै आएको छ ।
प्रकाशित मिति: आइतबार, पुस १, २०८०, ०७:१९