डडेलधुरा । सुदूरपश्चिममा स्वास्थ्य बीमा गराउनेको सङ्ख्या बढिरहेको छ । प्रदेशका सबै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागु भएसँगै स्वास्थ्य बीमाप्रति आकर्षण पनि बढ्दै गएको हो ।
सरकारी अस्पतालमा उपचार सेवा सहज हुन थालेकाले पनि स्वास्थ्य बीमामा आकर्षण बढ्न थालेको छ ।
लागु भएको ६ वर्षमा सुदूरपश्चिमका २० प्रतिशत नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध भएका छन् । स्वास्थ्य बीमा बोर्ड सुदूरपश्चिमकाअनुसार सुदुरपश्चिम प्रदेशमा ५ लाख ४२ हजार ३७३ जना बिमित छन् ।
बीमा गरे अनुसारको सुविधा सरकारी अस्पतालमा सजिलै पाउने गरेको विमितको अनुभव छ । स्वास्थ्य बीमा गरेवापत बिमितले एक लाख रुपैयाँसम्मको उपचार तथा औषधि निशुल्क पाउने गरेका छन् ।
स्वास्थ्य बीमा गराएकाहरूको प्राथमिक स्वास्थ्य केन्द्र, नगर अस्पताल, जिल्ला अस्पताल, प्रादेशिक अस्पताल र सङ्घीय अस्पतालमा उपचार सेवा केन्द्र तोकिएको हुन्छ ।
बिमितको पहिलो सेवा केद्रमा उपचार हुन नसके प्रादेशिक र सङ्घीय अस्पतालबाट उपचार लिन पाइन्छ ।
उपचार र औषधि सहज बनाउन सके विमितलाई सजिलो हुनुका साथै स्वास्थ्य विमितको सङ्ख्या बढाउन पनि सजिलो हुने भएकाले यसअनुसार पहल गरिरहेको स्वास्थ्य बीमा बोर्ड सुदूरपश्चिमका प्रमुख रमेन्द्रप्रसाद कुसवाहले बताउनुभयो ।
सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी कैलालीमा २ लाख ८० हजार ९ सय ५७ जनाले स्वास्थ्य बीमा गरेका छन् । यस्तै कञ्चनपुरमा ५९ हजार ५२ र अछाममा ५५ हजार ४ सय ८३ ले स्वास्थ्य बीमा गराएका छन् ।
बझाङमा ३९ हजार ९ सय ७३, बाजुरामा ३४ हजार ५ सय ८९, बैतडीमा २३ हजार ८ सय ५८, डडेलधुरामा १९ हजार ९ सय १०, डोटीमा १६ हजार ३ सय ५५, र दार्चुलामा १२ हजार १ सय ९६ जनाले स्वास्थ्य बीमा गराएका छन् ।
पुराना बिमितमध्ये ८५ प्रतिशतभन्दा बढीले स्वास्थ्य बीमा नवीकरण गर्ने गरेका छन् ।
प्रकाशित मिति: सोमबार, पुस २, २०८०, १०:०२