रेडियो कपुरकोट, सल्यान
सल्यान । गाउँ समाजमा भएको मानसिक स्वास्थ्य समस्यालाई न्यूनिकरण र व्यवस्थापन गर्नका लागि सल्यानमा मानसिक स्वास्थ्य तथा मनोसामाजिक सुस्वास्थ्य प्रवद्र्धन परियोजना प्रभावकारी बनेको सेवाग्राहीले बताएका छन् ।
जिल्लाको छत्रेश्वरी गाउँपालिका र मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र नेपाल (सीएमस नेपाल) को सहकार्यमा सञ्चालित प्रवद्र्धन कार्यक्रमले सकारात्मक प्रभाव पारेको उनीहरूको भनाइ छ ।
आप्रावासी कामदार तथा उनका परिवारहरूका लागि मानसिक स्वास्थ्य तथा मनोसामाजिक सुस्वास्थ्य प्रवद्र्धन परियोजना कार्यक्रमबारे भोटेचौरमा आयोजित सामाजिक परीक्षण प्रारम्भीक प्रतिवेदन प्रस्तुतीकरण कार्यक्रमका सहभागीहरूले मानसिक स्वास्थ्य समस्याको पहिचान, औषधोपचार, कानुनी सहयोग, सचेतना कार्यक्रमलगायतका महत्वपूर्ण क्षेत्रमा ठूलो सहयोग पुगेको चर्चा गरिएको हो ।
छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष ओजबहादुर बुढाथोकीले मानसिक सवस्थ्य समस्यालाई हल्का रूपमा नलिइ यसको उचित परीक्षण गराइ मनोचिकित्सक तथा मनोपरामर्शकर्ताको परामर्श अनुसार उपचार गर्नुपर्ने रहेछ भन्ने धारणा सरोकारवालामा बसेको बताउनुभयो ।
कार्यक्रममा सहभागीहरूले मानसिक स्वास्थ्य समस्या लुकाउने र लाज मान्ने चलनमा परिवर्तन आएको तथा उपचारपछि निको हुने रहेछ भन्ने विश्वास लाग्न थालेको धारणा राखेका थिए ।
सामाजिक जवाफदेहिता अभ्यासकर्ता नमस्कार शाहले सामाजिक परिक्षण प्रारम्भीक प्रतिवेदन प्रस्तुत गर्दै प्रवद्र्धन कार्यक्रम अन्तर्गत जनचेतनामूलक कार्यक्रम, परामर्श र उपचार तथा साझेदारी, समन्वयलगायतका क्रियाकलाप सञ्चालन भइरहेको जनाउनुभयो ।
उहाँका अनुसार छत्रेश्वरी गाउँपालिकामा परियोजनामार्फत सामाजिक रुपान्तरण, सामुदायिक विकासमा टेवा पुगेको छ भने मानसिक समस्या भएका ब्यक्तिहरूले खुलेर समस्या बताउन थालेका छन् ।
हाल छत्रेश्वरीका दुई वटा स्वास्थ्य संस्थाबाट मानसिक तथा मनोसामाजिक समस्यामा उपचार भइरहेको छ भने दुइ स्वास्थ्य चौकी थप गर्ने प्रक्रियामा रहेको मनोसामाजिक परामर्शकर्ता गीता पहाडीले जानकारी दिनुभयो ।
गाउँपालिकाले पनि कार्यक्रमका लागि हरेक वर्ष बजेट विनियोजन गर्दै आएको जनाउदै उहाँले मानसिक समस्या भएका ब्यक्तिलाई लगाइने विभिन्न लाञ्छना र भ्रमका बारेमा मानिसहरूले वास्तविकता बुझ्न थालेको सुनाउनुभयो ।
प्रारम्भिक प्रतिवेदनमा अझै अन्धविश्वासको कारण आम नागरिकहरुले मानसिक स्वास्थ्यप्रति पूर्ण विश्वास गर्न नसकेको विषयलाई समस्याको रूपमा औँल्याइएको छ ।
फेल्म–नेपालको आर्थिक सहयोगमा मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र नेपाल (सीएमसीनेपाल) र छत्रेश्वरी गाउँपालिकाको सहकार्यमा ‘आप्रवासी कामदार तथा उनका परिवारहरुका लागि मानसिक स्वास्थ्य तथा मनोसामाजिक सुस्वास्थ्य प्रवद्र्धन’ परियोजना सञ्चालन भइरहेको छ ।
प्रकाशित मिति: मंगलबार, पुस ३, २०८०, ०८:५५