सर्लाही । सर्लाहीका उखु किसानले हिजोबाट आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् ।
उखु किसान संयुक्त सङ्घर्ष समितिको हिजो बसेको बैठकले जिल्ला केन्द्रित आन्दोलन स्थगित गरी काठमाडौँमा गएर दबाब दिने निर्णय गरेको छ ।
मिलगेट उखु उत्पादक समिति सर्लाहीका अध्यक्ष राजकुमार उप्रेतीले अन्य जिल्लाका उखु किसानका प्रतिनिधिसँग पनि समन्वय गरी अब काठमाडौँमै गएर आन्दोलन गर्ने निर्णय गरी जिल्लाको आन्दोलन रोकिएको जानकारी दिनुभयो ।
उहाँले काठमाडौँमा सांसदहरूसहित सम्वद्ध मन्त्रालयमा डेलिगेसन जाने र यदि त्यसो गर्दा पनि माग सम्बोधन नभए माइतिघर मण्डलामा धर्नामा बस्ने निर्णय गरिएको बताउनुभयो ।
सरकारले अस्ति मात्रै उखुको मूल्य प्रतिक्विन्टल सरकारी अनुदान ७० रुपियाँसहित ६ सय ३५ रुपैयाँ तोकेको थियो । सर्लाहीका उखु किसानले यो मूल्य स्वीकार गरेका छैनन् ।
चिनीमा वृद्धि भएको मूल्यलाई आधार मानेर उखुको मूल्य प्रतिक्विन्टल ७ सय ५० रुपैयाँ कायम गर्न सर्लाहीका उखु किसानले माग गरेका छन् ।
उखु किसान संयुक्त सङ्घर्ष समितिले आज साँझ प्रेस विज्ञप्ती जारी गर्दै घोषित अनुदानको रकम उखु किसानले उखु बेचेको कति समयमा पाउने भन्ने सुनिश्चितता गर्न माग गरेको छ ।
सरकारले उखुको मूल्य तोक्दा अनुदान रकम तोके पनि वर्ष दिन बित्दासमेत अनुदान रकम नपाउने गरेको भन्दै उखु किसानले आन्दोलन गर्दै आइरहेका छन् ।
उखु किसानले आन्दोलन स्थगित गरेसँगै देशकै सबैभन्दा ठूलो इन्दुशङ्कर चिनी हरिवनले अब आजबाटै उखु क्रसिङ सुरु गर्ने भएको छ ।
उद्योगका उखु प्रवन्धक योगनारायण रजकले आजबाट उखु क्रसिङ सुरु गरिने जानकारी दिनुभयो । इन्दुशङ्करले किसानलाई उखु ल्याउनका लागि यसअघि नै चलान वितरण गरिसकेको छ ।
चिनी मिल सन्चालन हुन ढिलाई हुँदा उखु किसानको खेतमै उखु सुकेर गइरहेको थियो ।
प्रकाशित मिति: शुक्रबार, पुस ६, २०८०, ०९:५७