काठमाडौँ । जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले कर्मचारी र जनप्रतिनिधिले आफूखुसी जिल्ला छोड्दा भूकम्प प्रभावितलाई अस्थायी आवास निर्माणका लागि पहिलो किस्ताको रकम वितरणमा समस्या भएको बताउनुभएको छ ।
सीआईएनको संयोजनमा जाजरकोट र रुकुम पश्चिमका सामुदायिक रेडियोको सहकार्यमा उत्पादन तथा प्रसारण भइरहेको कार्यक्रम "जीवन रक्षा" मा बोल्दै प्रमुख जिल्ला अधिकारी सुनारले कुनै समन्वयविना नै विदा बस्ने कर्मचारीलाई कारबाहीका लागि लेखी पठाउने चेतावनी दिनुभयो ।
अस्थायी आवास निर्माणको पहिलो किस्ता वापतको रकम सबै स्थानीय तहमा पठाइएको भए पनि प्रभावितले पालिका प्रमुख वा कर्मचारी नभएका कारण लिन नपाएको गुनासो प्रशासनमा गर्न थालेको उहाँको भनाइ छ ।
कर्मचरी र जनप्रतिनिधि विभिन्न सङ्घसंस्थाले आयोजना गरेका कार्यक्रममा सहभागी हुन भन्दै सुर्खेत, पोखरालगायतका स्थानमा गएका छन् ।
जाजरकोटमै कार्यक्रम राखेर साँझबिहान भए पनि भूकम्प प्रभावितलाई सेवा दिने वातावरण बनाउन प्रमुख जिल्ला अधिकारी सुनारले सरोकारवालासँग अनुरोध गर्नुभयो ।
नलगाड, भेरी नगरपालिकाका विभिन्न स्थानबाट भूकम्र प्रभावितले अस्थाइ आवासको पहिलो किस्ताको रकम लिने प्रक्रयाको काम गर्न पालिकामा जाँदा कर्मचारी र जनप्रतिनिधि नै नरहेको गुनासो गरेपछि प्रमुख जिल्ला अधिकारीले चाँडै यो समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाउनुभएको हो ।
हाल जाजरकोटमा नलगाढ नगरपालिकाका मेयर र प्रमुख प्रशासकीय अधिकृत, बारेकोट गाउँपालिकाका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत, बारेकोट गाउँपालिकाका अध्यक्षलगायतका केही जनप्रतिनिधि तथा प्रमुख प्रशासकीय अधिकृत जिल्ला बाहिर रहेको जानकारीमा आएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।
छेडागाड नगरपालिकाका मेयर आफ्नो आमाको मृत्युका कारण विदामा बसेका छन् भने जुनिचाँदे गाउँपालिका निमित्त प्रमुख प्रशासकीयको भरमा सञ्चालित छ ।
भेरी नगरपालिकाका मेयर लामो समयदेखि जिल्ला बाहिर छन् भने कुसे गाउँपालिका जनप्रतिनिधि र कर्मचारी भने भूकम्प प्रभावितको अस्थायी आवास निर्माणका लागि पहिलो किस्ताको रकम वितरणमा खटिएका छन् ।
यससम्बन्धी समाचार सुन्नुहोस्ः
प्रकाशित मिति: आइतबार, पुस ८, २०८०, ०७:५२