ललितपुर । लुभूमा रहेको श्री महालक्ष्मी माध्यमिक विद्यालयमा अध्ययनरत पूर्व विद्यार्थीको संस्था महालक्ष्मी अल्मुनाई एसोसिएसनको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
साधारण सभामा एसोसिएसनका अध्यक्ष दीपककुमार श्रेष्ठले स्थानीय बालबालिकालाई सामुदायिक विद्यालयमा आकर्षक गर्न विद्यालयले विभिन्न रचनात्मक कार्यक्रम र अध्ययनको गुणस्तरमा वृद्धि गर्नुपर्ने बताउनुभयो । विद्यालयले उल्लेखनीय भौतिक पूर्वाधार तयार गरेकोमा प्रशंसा गर्दै उहाँले दातालाई सम्मान गरिनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा एसोसिएसनका अध्यक्ष श्रेष्ठले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदन र आगामी वर्षको कार्य योजना तथा कोषाध्यक्ष रिता श्रेष्ठले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष ०७९।८०को आय व्यय विवरण पारित गरिएको थियो ।
७६ वर्षअघि स्थापना भएको विद्यालय अन्तर्गत पाँच वर्षअघि गठित एसोसिएसनमा हाल १४२ जना आजीवन र २३५ जना साधारण सदस्य छन् ।
कार्यक्रममा विद्यालयमा प्रथम प्रधानाध्यापक भीष्मराज पाण्डेयले विद्यालयका उत्कृष्ट र जेहेन्दार विद्यार्थीका लागि विभिन्न समाजसेवी तथा शिक्षा प्रेमीद्वारा स्थापित १ लाख २० हजार रूपैयाँ राशीका छात्रवृत्ति र पुरस्कार वितरण गर्नुभएको थियो ।
१० हजार राशिको छात्रवृत्ति प्राप्त गर्नेमा कक्षा ११ र १२ मा अध्ययनरत छात्राद्वय मन्दिना आले र मनिषा भुजेल, एसईईमा सर्वोत्कृष्ट अंक ल्याउने कन्हैयालाल चौधरी तथा ऋती तामाब, जेहेन्दार विद्यार्थी भीमबहादुर तामाब र अमलेश महतो, करिना विक रहनुभएको छ ।
कार्यक्रममा १० हजार राशिको बहिदार रामबहादुर श्रेष्ठ पुरस्कार सिद्धीमंगल मावि सिद्धिपुरका सामाजिक शिक्षक द्वारिकानाथ रिमाललाई र शिक्षक सन्तोष रावललाई यस वर्षको उत्कृष्ट शिक्षक पुरस्कार कृष्णलाल हिरादेवी शिक्षक प्रोत्साहन पुरस्कार प्रदान गरिएको थियो ।
उक्त विद्यालयमा अध्ययनरत विपन्न ७१ जना विद्यार्थीलाई स्विटर प्रदान गरिएको थियो । सो अवसरमा विविध सांस्कृतिक कार्यक्रम र राष्ट्रिय सेवा दल (एनसीसी)मा आबद्ध यो विद्यालयका विद्यार्थीले उत्कृष्ट प्रदर्शन गरिएको थियो ।
प्रकाशित मिति: आइतबार, पुस ८, २०८०, १६:२९