काठमाडौँ । जाजरकोट भूकम्पपछि पालमुनि बस्दै आएकी एक किशोरीलाई बलात्कार गरेको आरोपमा नलगाड नगरपालिका १ का २१ वर्षीय गोपाल बादीलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ ।
एक २१ वर्षीय कीशेरीलाई बलात्कार गरेको आरोप उनीमाथि लागेको छ ।
सीआईएनको संयोजन र जाजरकोट तथा रुकुम पश्चिमका १० सामुदायिक रेडियोको सहकार्यमा खलङ्गा एफएमले उत्पादन गर्दै आएको कार्यक्रम ‘जीवनरक्षा’ को दोस्रो भागमा भूकम्प प्रभावित महिलामाथि दुर्व्यवहार भएको बारेमा छलफल भएको थियो ।
भूकम्प प्रभावित महिला हिंसाको जोखिममा परेको बारेमा रिपोर्ट प्रसारण भएको थियो भने जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख डीएसपी सन्तोष रोका सहभागी हुनुभएको थियो ।
डीएसपी रोकाले आरोपित व्यक्ति पक्राउ परेको र उनलाई कारबाहीका लागि कुनै सम्झौता नहुने प्रतिबद्धता जनाउनुभएको थियो । पक्राउ परेपछि पनि अनौपचारिक रूपमा प्रभावित पार्ने कोसिस भइरहेको भन्दै उहाँले पीडितलाई न्याय दिलाउनका लागि प्रहरीले अन्तिमसम्ममा पनि जोडबल गरिरहने बताउनुभयो ।
कात्तिक २६ गते राति आफूमाथि बलात्कार भएको जाहेरी किशोरीले दिएकी थिइन् ।
उनलाई मङ्सिर १७ गते जाजरकोट जिल्ला अदालतले पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको डीएसपी रोकाले जानकारी दिनुभयो ।
भूकम्पपछि जाजरकोटमा मात्रै महिलामाथि दुर्व्यवहारका ५ वटा घटना सार्वजनिक भएका छन् ।
प्रकाशित मिति: सोमबार, पुस ९, २०८०, ०८:१०