काठमाडौँ । नियुक्त भएको एक वर्ष पूरा भएको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज राष्ट्रका नाममा सम्बोधन गर्दै हुनुहुन्छ ।
साँझ ५ बजे सिंहदरबारस्थित मन्त्रीपरिषद् तथा प्रधानमन्त्रीको कार्यालयबाट सम्बोधन गर्ने कार्यक्रम तय भएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभयो ।
प्रधानमन्त्रीले एक वर्षमा भएका कामकारबाहीको फेहरिस्त सुनाउने र आगामी योजना घोषणाको तयारी गर्नुभएको बुझिएको छ ।
प्रचण्डले प्रधानमन्त्रीको रूपमा गत वर्ष पुस १० गते नियुक्त भइ भोलिपल्ट शपथ लिनुभएको थियो ।
प्रधानमन्त्रीको रूपमा प्रचण्डले १ वर्ष पूरा गरेको भने यो पहिलो पटक हो । २०६५ र २०७३ सालमा प्रधानमन्त्री बन्नुभएका प्रचण्ड १ वर्ष नपुग्दै पदबाट हट्नु परेको थियो ।
संसद्का ५ राजनीतिक दलको समर्थनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको नेतृत्व गरेको भए पनि अपेक्षा गरिएअनुसारको काम नभएको सरोकारवालाको विश्लेषण छ ।
वर्तमान सरकार नागरिकको जिवनस्तर उकास्नभन्दा सत्ता गठबन्धन टिकाउन नै केन्द्रित देखिएको राजनीतिक विश्लेषक राजेश गौतमले सीआईएनसँग बताउनुभयो । उहाँले सुशासनको क्षेत्रमा पनि अपेक्षा गरेजस्तो काम नभएको टिप्पणी गर्नुभयो ।
आर्थिक क्षेत्रमा पनि भनेजस्तो हुन नसकेको विज्ञहरूको भनाइ छ । अघिल्लो वर्षका तुलनामा केही आर्थिक सूचक भने सकारात्मक दिशातर्फ अघि बढेका छन् ।
गतवर्षको तुलनामा मूल्यवृद्धि घटेको छ । नेपाल राष्ट्र बैँकका अनुसार पोहोर मुद्रास्फीति ७ दशमलब ३८ प्रतिशत थियो । चालु आर्थिक वर्षको पहिलो चार महिना अर्थात् गत कात्तिक मसान्तसम्ममा मुद्रास्फीति ५ दशमलब ३८ प्रतिशत रहेको छ ।
अर्थविद डा. चन्द्रमणि अधिकारीले सीआईएनसँग कुराकानी गर्दै मुलुकको अर्थतन्त्र सुधारका लागि कम काम भए पनि वैदेशिक रोजगारीबाट भित्रिने रेमिट्यान्सका कारण नयाँ आशा जगाएको धारणा राख्नुभयो ।
शिक्षाविदहरूले समेत सरकारको एक वर्षमा शिक्षा क्षेत्रमा सुधार नभएको गुनासो गरेका छन् ।
विद्यालयका शिक्षक र कर्मचारीले आन्दोलन गरे पनि सहमति कार्यान्वयन प्रभावकारी नभएको, त्रिभुवन विश्वविद्यालयमा करिब २५ सय रिक्त कर्मचारी पूर्ति नभएको अवस्था छ । सीआईएनसँग कुरा गर्दै शिक्षाविद प्राध्यापक विद्यानाथ कोईरालाले सरकारले चाहे अझैँ पनि सुधान गर्न सक्ने बताउनुभयो ।
प्रकाशित मिति: मंगलबार, पुस १०, २०८०, १२:१७