ललितपुर । सामुदायिक रेडियो तथा वातावरण पत्रकारिताका अगुवा अष्टमान किसी महर्जनको निधन भएको छ ।
उहाँको ६० वर्षको उमेरमा निधन भएको हो । उहाँलाई मिर्गौला र कलेजोसम्बन्धी समस्या रहेको पारिवारिक स्रोतले जनाएको छ ।
२०५२ सालमा युवा जागरण पर्यावरण मञ्च स्थापना गरी वातावरण पत्रकारिता सुरु गर्नुभएका महर्जनले २०५७ सालबाट रेडियोमा पर्यावरण चक्र कार्यक्रम सुरुवात गर्नुभएको थियो ।
केही समय रेडियो नेपालको एफएम १०० मेगाहर्जमा यो कार्यक्रम सञ्चालन गर्नुभएका उहाँले २०६० सालमा ललितपुरको बाडेगाउँमा पर्यावरण चक्र एफ एम सुरुवात गर्नुभएको थियो ।
पछिल्लो समय उहाँले पर्यावरण टेलिभिजनमार्फत पनि वातावरण, पर्यावरण, दिगो विकास र सामुदायिक विकासका विषय उठाउँदै आउनुभएको थियो ।
यसबाहेक उहाँले प्रदूषण नियन्त्रणका लागि काठमाडौँबाट विक्रम टेम्पुलाई विस्थापित गर्ने, गोदावरी क्षेत्रको जैविक विविधताको संरक्षणका क्षेत्रमा स्थानीय स्तरमा धेरै कार्यक्रम सञ्चालन पनि गर्नुभएको छ ।
उहाँको निधन प्रति सामुदायिक रेडियो प्रसारक सङ्घले दुख व्यक्त गरेको छ ।
प्रकाशित मिति: बिहीबार, पुस १२, २०८०, १३:३२