जाजरकोट । जाजरकोट भूकम्पका कारण प्रभावित २ सयभन्दा धेरै किसानलाई राहत वितरण गरिएको छ ।
पशु अस्पताल तथा पशु सेवा कार्यालय जाजरकोट र स्न्याज केयरको सहयोगमा नलगाडमा ९ टन पशुको दाना, २ सय थान त्रिपाल, १ टन नुन भूकम्प प्रभावित किसानलाई दिइएको हो।
पशु सेवा शाखा कार्यालयलाई औषधिसमेत गरेर ३६ लाख रुपैयाँ बराबरको राहत वितरण गरिएको पशु अस्पताल तथा पशु सेवा कार्यालय जाजरकोटका प्रमुख ज्ञानु कुमार शर्माले जानकारी दिनुभयो ।
सीआईएनको संयोजनमा जाजरकोट र रुकुम पश्चिमका सामुदायिक रेडियोको सहकार्यमा रेडियो खलङ्गाले उत्पादन गर्दै आएको कार्यक्रम ‘जीवनरक्षा’ को ४ पुसको छलपलमा प्रमुख शर्मा सहभागी हुनुभएको थियो ।
उहाँसँग नलगाडबाट गणेश पुन, भीमबहादुर खड्कालगायत किसानले आफूहरूको पशुचौपायमा क्षति पुगे पनि कुनै सहयोग नपाएको गुनासो गरेका थिए ।
रेडियो खलङ्गा जाजरकोटको अस्थायी स्टुडियोमा पशु अस्पताल तथा पशु सेवा कार्यालय जाजरकोटका प्रमुख ज्ञानु कुमार शर्मा । बायाँ ।
‘क्षतिपूर्ति पाउने नपाउने कुनै ठेगान छैन । उपचार र राहतमा पनि ढिलासुस्ती भइरहेको छ । पशु स्वास्थ्यका लागि टोली गाउँमा आउनुपर्यो ।’ उहाँले पशु अस्पताल तथा पशु सेवा कार्यालयका प्रमुख शर्मासँग भन्नुभएको थियो ।
राहत उपलब्ध गराउने प्रतिबद्धता जनाएको तेस्रो दिनमा प्रभावित किसानलाई नलगाडमा राहत बाँडिएको हो ।
भूकम्पका कारण जाजरकोटको नलगाड नगरपालिकाका १ सय ९२ घरमा पालिएका किसानको पशुचौपायमा क्षति पुगेको थियो ।
भूकम्पमा परी नलगाड नगरपालिकामा सबै भन्दा धेरै २१ वटा गाईगोरु, २० वटा राँगाभैंसी, २ सय १३ वटा भेडाबाख्रा र १ सय ३६ पन्छी मरेका छन् ।
जाजरकोट जिल्लाभरिमा भूकम्पका कारण पशुचौंपायामा ५ करोड भन्दा धेरैको क्षति भएको पशु अस्पताल तथा पशु सेवा कार्यालयले जानकारी दिएको छ ।
प्रकाशित मिति: बिहीबार, पुस १२, २०८०, १४:४९