काठमाडौँ । अर्चितबाबु मर्सिफूलद्वारा लिखित उपन्यास ‘मेघमानव’ एक कार्यक्रमका बीच काठमाडौँमा लोकार्पण गरिएको छ।
नेपाली लेखक सङ्घको आयोजनामा भएको लोकार्पण समारोहमा लेखक सङ्घका केन्द्रीय अध्यक्ष तीर्थ श्रेष्ठ, आख्यानकार डा.ध्रुवचन्द्र गौतम, लेखक अर्चितबाबुलगायतले ‘मेघमानव’को सामूहिक लोकार्पण गरे ।
कार्यक्रममा डा गौतमले उपन्यासमा धेरै कुराहरू चाहिने उल्लेख गर्दै ‘मेघमानव’ मा प्रचुर रूपमा रहेको पाइएको बताउनुभयो ।
कम उमेरमा अरू विधामा कृति निस्केको थाहा पाए पनि उपन्यास निस्केको थाहा नभएको र यो अभाव अर्चितबाबुले पूरा गरिदिएको धारणा राख्नुभयो ।
कवि तीर्थ श्रेष्ठले उपन्यासकार अर्चितबाबुलाई अभिभावकले साथ र प्रोत्साहन दिएका कारण पनि सकारात्मक प्रभाव देखिएको टिप्पणी गर्नुभयो ।
उपन्यासमा नयाँ दृष्टिकोण तथा नयाँ ढङ्गले सामाजिक एवम् राजनीतिक विषयवस्तुलाई उठाएको उहाँको भनाइ छ ।
समालोचक डा शैलुन्दुप्रकाश नेपालले सानै उमेरमा देशको राजनीतिक, सामाजिक एवम् ऐतिहासिक कुराहरूलाई सरल भाषामा उपन्यास मार्फत प्रस्तुत गरेर लेखक अर्चितले एउटा अभिलेख खडा गरेको उल्लेख गर्नुभयो ।
अर्का समालोचक डा अनुपमा रेग्मीले लेखकले सरल भाषा तथा मीठो शब्दको चयन गरी उपन्यासद्वारा साहित्य र राज्यलाई शक्तिशाली बनाउने प्रयास गरेको टिप्पणी गर्नुभयो ।
उपन्यासकार अर्चितबाबु मर्सिफुलले आफ्नो लेखनयात्राबारे चर्चा गर्दै दन्त्यकथा, कथा, महाभारत जस्ता कथाहरू सुनेर आफू प्रभावित भएको बताउँदै पहिलो उपन्यास लेखन र प्राप्त हौसलाबाट 'मेघमानव' लेख्न सफल भएको सुनाउनुभयो ।
लेखक अर्चितबाबु १२ वर्षकै हुँदा २०७५ मा उहाँको ‘पञ्चमणि’ नामक उपन्यास प्रकाशन भइसकेको थियो ।
प्रकाशित मिति: शुक्रबार, पुस १३, २०८०, ११:०२