हेटौँडा । अधिकार हस्तान्तरण गर्न संघ सरकारलाई दबाब दिनका लागि सातै प्रदेशका मुख्य मन्त्रीको भेला हेटौँडामा सुरु भएको छ । संघीयता लागू भएको ६ वर्ष पुग्दा समेत आवश्यक कानुन नबन्दा र कतिपय अधिकार संघ सरकारले हस्तान्तरण नगर्दा संघीयता कार्यान्वयन चुनौतीपूर्ण बन्दै गएको भन्दै संघ सरकारलाई दबाब बढाउन मुख्यमन्त्रीहरुको भेला सुरु भएको हो ।
बैठकमा आवश्यक कानुन निर्माण तथा अधिकार प्रत्यायोजनका लागि संघ सरकारको भूमिकाबारे छलफल गरी प्रधानमन्त्रीलाई भेट्ने तयारी रहेको मुख्यमन्त्रीहरुले बताएका छन् ।
यसअघि हिजो गाउँपालिका महासंघ र नगरपालिका महासंघका प्रतिनिधि र मुख्यमन्त्री तथा सचिवहरूबिच छलफल भएको थियो ।
गएको असार १५ र १६ गते पोखरामा भएको मुख्यमन्त्रीहरूको अन्तर प्रदेश बैठकले ६ महिनाभित्र संघले प्रदेशलाई सम्पूर्ण अधिकार प्रत्यायोजन गरिसक्नुपर्ने निर्णय गरेको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको राष्ट्रिय समन्वय परिषद्को बैठकका निर्णय कार्यान्वयनको समय गुज्रिन लाग्दा पनि संघले तदारुकता नदेखाएपछि मूख्यमन्त्रीले भेला गरेका हुन् ।
यो समय सीमा पुस १६ गते सकिँदै छ ।
प्रकाशित मिति: शुक्रबार, पुस १३, २०८०, १२:०५