काठमाडौँ । कवि सुमिनाको कवितासंग्रह ‘बागी स्त्रीको आत्मकथा’ सार्वजनिक भएको छ । काठमाडाैँकाे कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा कविता संग्रह सार्वजनिक गरिएको हो ।
कार्यक्रममा वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका महासचिव तथा विश्लेषक आहुति, लेखकहरू कुमारी लामा र अभय श्रेष्ठले कविता संग्रहबारे टिप्पणी गर्नुभएको थियो । विश्लेषक आहुतिले सुमिनाका कविता वैचारिक हस्तक्षेपसहितका कविता भएको र यही नै कविताको शक्ति भएको बताउनुभयो । उनले भने, ‘सुमिनाका कविता वैचारिक त छदै छन्, ती मुख्यतया माक्र्सवादको वैचारिकीमा उभिएका छन्।’
कवि अभय श्रेष्ठले सुमिनाको कवितामा प्रष्ट वैचारिकी पाइने बताउनुभयो । उनले भने, ‘वैचारिक रुपले प्रष्ट कविता पढ्न चाहनेहरुलाई सुमिनाजीको कविता पढ्न पाउँदा खुशी लाग्नेछ ।’, संग्रहका धेरै कविताहरु राम्रो लागेको, केही कवितामा विमति र केही कवितामा भने आपत्ति रहेको उहाँको भनाइ थियो ।
यस्तै लेखक कुमारी लामाले सुमिनाको कविता विचारको विलासमात्र नभएर पक्षधरता र उत्पिडित समुदायको आवाजलाई मुखर गर्ने खालका रहेको बताउनुभयो ।‘वहाँको विचार नै बिद्रोही रुपमा आएर कवितामा अन्तिम अश्त्र, जंगली फूल, बागी स्त्रीको आत्मकथा जस्ता चोटिलो कविता बनेका छन्,’ उहाँले भन्नुभयो ।
कार्यक्रममा कवि सुमिनाले कवि र कविता विचको दुरी, पक्षधरता र लेखनको उदेश्य गरी तीन बुँदामा आफ्ना लेखकीय मन्तव्य प्रस्तुत गर्नुभएको थियो । ‘मैले जुन र जस्ता कविताहरू लेखेकी छु, यी कविताहरू कसैको निम्ति अत्यन्तै असान्दर्भिक र बेकारका बस्तु बन्न सक्छन्, त्यसको पूर्वआभास मसँग छ । त्यसलाई म स्वभाविक रुपमा पनि लिनेछु । किनकी वर्ग समाजमा वर्ग निरपेक्ष कुनै कवि लेखक साहित्यकार पनि हुनसक्दैन । एकैसमय कोही सबैको प्रिय बन्छु भनेर सोच्छ भने त्यो समस्याग्रस्त कुरा हुन्छ । तह र तप्कामा विभाजित समाजमा एउटा तप्काको आवाज बोल्न अर्को तप्काको बैरी हुनैपर्छ,’ कवि सुमिनाको भनाइ थियो ।
सुमिनाको यो पहिलो कवितासंग्रह इन्डिगो इङ्क ले प्रकाशन गरेकाे हाे ।
प्रकाशित मिति: शनिबार, पुस १४, २०८०, १७:४६