काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा राजतन्त्र फर्किने सम्भावना नरहेको दाबी गर्नुभएको छ । गणतन्त्रवादी शक्तिहरू एकै ठाउँमा रहेको र गणतन्त्रलाई थप बलियो बनाएर लैजान सबै सहमत रहेकाले नेपालमा राजतन्त्र फर्कने सम्भावना नरहेको उहाँले बताउनुभयो ।
मेलमिलाप दिवसको सन्दर्भमा नेपाली काँग्रेसले काठमाडौँमा सोमबार आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले राजतन्त्र फर्किन नदिन आफूहरू सबै एक ठाउँमा रहेको बताउनुभयो । नेपालमा जन्मिँदै शासक हुने सामन्तवादको कुनै अवशेष बाँकी नरहेको उहाँले दाबी गर्नुभयो ।
राजतन्त्र आएर राष्ट्रियता बलियो हुने तर्क सही नभएको भन्दै उहाँले देश राजाले नभई नागरिकले बचाउने र बलियो बनाउने बताउनुभयो ।
प्रकाशित मिति: सोमबार, पुस १६, २०८०, १६:३९