काठमाडौँ । ऊर्जा उत्पादकहरूले प्रस्तावित ७६२ मेगावाटको तमोर जलाशययुक्त आयोजना नेपालीकै लगानीमा बनाउन माग गरेका छन् । आयोजना नेपालीकै लगानीमा निर्माण गर्न सम्भव रहेको भन्दै ऊर्जा उत्पादकहरूले यसका लागि ५० वर्षको विद्युत् उत्पादनको अनुमति पत्र दिनुपर्ने माग गरेका छन् ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान)का पदाधिकारी सरकारका मन्त्री, सांसद र सरोकारवालामार्फत आयोजना नेपालीकै लगानीमा निर्माण गर्ने गरी अघि बढाउन माग गर्दै आएका उनीहरूले सहरी विकास मन्त्री सीता गुरुङलाई भेटेर त्यस्तो प्रस्ताव दोहोर्याएका हुन् । तमोर जलाशययुक्त आयोजना प्रभावित क्षेत्र तेह्रथुमबाट निर्वाचित सांसद गुरुङसँग इप्पानका अध्यक्ष गणेश कार्की, वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगी, पूर्व अध्यक्ष शैलेन्द्र गुरागाईँसहित पदाधिकारीले भेटवार्ता गरी यो माग राखेको वरिष्ठ उपाध्यक्ष डाँगीले जानकारी दिनुभयो ।
इप्पानका वरिष्ठ उपाध्यक्ष डाँगीले सरकारले देशको अर्थतन्त्रमा ठुलो महत्त्व राख्ने सम्भावना बोकेको आयोजना विदेशीलाई दिन लागेको भन्दै यो आयोजना नेपालले बनाउँदा नेपालकै आर्थिक विकास र समृद्धिमा ठुलो टेवा पुग्ने भएकाले आफूहरूले सरकारलाई प्रस्ताव गरेको बताउनुभयो । नेपाली ऊर्जा उत्पादकले १० वर्षभित्र आयोजना निर्माण गरेर सञ्चालनमा ल्याउन सक्ने भन्दै सरकारले यो कुरा बिचार गर्नुपर्ने उहाँको भनाइ छ ।
भेटमा मन्त्री गुरुङले नेपालीकै लगानीमा आयोजना निर्माण गर्ने बारे आफूले पहल गर्ने बताउनुभयो ।
आयोजना प्रभावित क्षेत्रका हरेक घरबाट ५० हजार रुपैयाँ लगानी गर्न सक्ने यसबाहेक देशका अन्य नागरिकले पनि सेयर लगाउने भएकाले आयोजनाको नाफा नेपाली नागरिकको हुने ऊर्जा उत्पादकको भनाइ छ । अहिले नेपालमा ३ हजार मेगावाट बिजुली उत्पादन भइरहेकोमा नेपालका व्यवसायीले नै दुई हजार मेगावाट बनाएकाले यो आयोजना पनि सम्पन्न गर्न सकिने उनीहरू दाबी गर्छन् ।
तेह्रथुम, ताप्लेजुङ र पाँचथरको सीमामा रहेको तमोर नदीबाट न्यून लगानीमा धेरै विद्युत् उत्पादन गर्न सकिने नेपाल विद्युत् प्राधिकरणको अध्ययनको निष्कर्ष छ । २०७० मा अनुमति लिएर प्राधिकरणले अध्ययन गरेको थियो भने त्यसअघि सन् १९८५ मा जाइकाले पनि अध्ययन गरेको थियो । ती अध्ययनहरूले आयोजनाले सुक्खा याममा दिनमा ८ घण्टा सञ्चालन गर्न सकिने र वर्षामा १६ घण्टासम्म लगातार चलाउन सकिने त्यस बेला प्राधिकरणको अध्ययनको निष्कर्ष थियो ।
सो अध्ययनका अनुसार आयोजनाबाट सुक्खा याममा १ हजार १११ गिगावाट र वर्षा याममा १ हजार ८७२ गिगावाट विद्युत् उत्पादन हुन सक्छ । तमोर आयोजनाको बाँध बनाउँदा तेह्रथुमको ओख्रे र पाँचथरको स्याबरुम्बाको सीमा भएर बग्ने लम्बु दोभानबाट डेढ किलोमिटर ताल बन्नेछ ।
प्राधिकरण्को अध्ययन अनुसार आयोजनामा २०५ मिटरको ड्याम बनाए ७६२ मेगावाट बिजुली उत्पादन हुन्छ भने त्यसलाई बढाएर ३ सय मिटर पुर्याउन सके तमोरबाट २५ सय ६५ मेगावाट बिजुली उत्पादन हुनेछ ।
तमोरमा २०५ मटिर बाँध लगाउँदा जम्मा १२६ घरपरिवारमात्रै विस्थापित हुनेछन् । यो जलाशयमा जम्मा डुबानमा पर्ने जग्गामध्ये ५ प्रतिशत मात्रै खेती योग्य रहेको वरिष्ठ उपाध्यक्ष डाँगीले बताउनुभयो ।
त्यसो त आयोजना बनाउन सरकारले चार वर्षअघि नै चिनियाँ कम्पनी पावर कन्स्ट्रक्सन कर्पोरेसन अफ चाइना लिमिटेडसँग सम्झौता गरिसकेको छ । तर सन् २०२० को जनवरीमा भएको सम्झौतामा दुई वर्षभित्र आयोजनाको विस्तृत सम्भाव्यता अध्ययन सम्पन्न गर्ने उल्लेख भए पनि चार वर्ष बित्दा पनि विस्तृत सम्भाव्यता अध्ययनको प्रतिवेदन भने तयार भएको छैन ।
तमोर नदीको पाँचथर–तेह्रथुम खण्डमा बाँध निर्माण गरेर विद्युत् उत्पादन गर्ने गरी अध्ययन भएको छ ।
प्रकाशित मिति: बुधबार, पुस १८, २०८०, १२:३६