खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जाजरकोट भूकम्प प्रभावितका लागि सबैको पहुँच हुने गरी तत्काल चामल पठाउने भएको छ ।
खाद्य तथा व्यापार कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्दले मोटा चामल तत्काल पठाउने प्रतिबद्धता जनाउनुभएको हो ।
सीआईएनको संयोजन, रुकुम पश्चिम र जाजरकोटका सामुदायिक रेडियोको सहकार्यमा रेडियो खलङ्गाले उत्पादन गदै आएको दैनिक कार्यक्रम जीवनरक्षामा चन्दले यस्तो प्रतिबद्धता जनाउनुभएको हो ।
अस्ति बिहानको कार्यक्रम जीवनरक्षामा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड जाजरकोटका प्रमुख राम प्रसाद पौड्यालले थोरै मूल्यमा किन्न सकिने मोटा चामल आफूहरूसँग नभएको जानकारी दिँदै मसिनो चामल बिक्री नभएको बताउनु भएको थियो ।
प्रमुख कार्यकारी अधिकृत चन्दले मोटो चामलको स्टक सकिएको र मोटो धान खरिद हुन नसकेका कारण पठाउन नसकिएको बताउनुभयो ।
टेन्डर प्रक्रिया यही पुस ६ गते सुरु भइसकेकोले मोटो चामल केही दिनमा जाजरकोट र रुकुमपश्चिममा पठाउने उहाँको भनाइ छ ।
‘बर्दियाको राजापुरमा मोटो चामल छ तर त्यो कर्णालीका ५ जिल्लाका लागि फोर्टी फाइड (पोषणयुक्त हुनेगरी प्रशोधन) बनाउने प्रयोजनका लागि उपयोग भइरहको छ । जाजरकोट भूकम्पका कारण कुपोषणको जोखिम कायमै रहेका कारण दुबै जिल्लामा फोर्टीफाइड चामल पठाउने पहल भइरहेको छ । तर यसमा विश्व खाद्य कार्यक्रमले पनि त्यसै अनुसारको निर्णय गर्नुपर्छ ।’ प्रमुख कार्यकारी अधिकृत चन्दले भन्नुभयो ।
नेपाल खाद्य संस्थान शाखा कार्यालय जाजरकोट खलंगा गोदाममा ६ सय ९० क्वन्टल अझै बिक्री हुन सकेको छैन । चामल बिक्री नहुनुमा महङ्गो भएको आरोप स्थानीय उपभोक्ताहरुले बताएका छन् ।
रुकुम पश्चिमा पनि महंगो भएकै कारण सहुलियता चामल सोचे जस्तो चामल बिक्री हुन नसकेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड रुकुम पश्चिमका शाखा प्रमुख विनोद चन्दले जानकारी दिनुभयो ।
प्रकाशित मिति: बिहीबार, पुस १९, २०८०, १२:३३