सर्लाही । सर्लाहीको बरहथवामा जारी शुक्रवार साँझबाट लगाइएको कर्फ्यु केही खुकुलो बनाइने भएको छ ।
शनिवार बिहान आठ बजे पछि प्रशासनले कर्फ्यु केही खुकुलो बनाउने र निषेधाज्ञा जारी गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार आइतबार बिहान आठ बजे सम्मका लागि निषेधाज्ञा लगाउने निर्णय गरिएको छ ।
झडपका क्रममा एक युवकको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालयले शुक्रवार साँझ ५ :३० बजेदेखि आज (शनिवार) बिहान आठ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको थियो । असहज स्थितिलाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालयले बरहथवामा जिल्लासहित मातहतका प्रहरी युनिटहरूबाट थप प्रहरी परिचालन गरेको छ । सशस्त्र प्रहरीले पनि ठुलो सङ्ख्यामा जनशक्ति परिचालन गरेको छ ।
यसैबिच हिजो दिउँसो प्रहरीले चलाएको गोली लागेर मृत्यु भएका युवकको शव अझै घटनास्थलमै रहेको छ । प्रशासनले घटनाबारे आफूहरुसँग वार्ता गर्नुपर्ने, दोषीलाई कानूनी दायरामा ल्याउनुपर्नेलगायतका माग राखेर आन्दोलित पक्षले युवकको शव उठाउन दिएका छैनन् । अस्पताल स्तरोन्नतिको माग राखी भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा हिजो दिउँसो ३ बजेतिर बरहथवा नगरपालिका-६, का अन्दाजी ३० वर्षका जयशङ्कर साहको मृत्यु भएको थियो ।
प्रकाशित मिति: शनिबार, पुस २१, २०८०, ०८:०९