जाजरकोट । जाजरकोटको जुनीचाँदे गाउँपालिका वडा नम्बर २ मा आज पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
पशु अस्पताल तथा पशुसेवा कार्यालयको आयोजनामा भएको शिविरमा २ सय १९ किसानका ३ सय १८ कुकुरलाई रेबिजविरुद्धको खोप लगाइएको छ ।
२ सय ३७ पशुपालक किसानका २५ सय ६८ भेडाबाख्रा, ८ सय ३४ गाईभैँसी र ८ सय ९६ कुखुरालाई औषधि वितरण तथा उपचार गरिएको पशु अस्पताल तथा पशुसेवा कार्यालयका निमित्त प्रमुख ज्ञानु शर्माले बताउनुभयो ।
रुकुम पश्चिम र जाजरकोटका सामुदायिक रेडियोहरूको सहकार्यमा रेडियो खलङ्गाले उत्पादन गर्दै आएको कार्यक्रम "जीवनरक्षा" को भाग २१ मा पशुसेवा कार्यालयका निमित्त प्रमुख शर्माले स्थानीय किसानले राखेको प्रश्नमा चाँडै शिविर चलाएर सेवा दिने प्रतिबद्धता जनाउनुभएको थियो ।
उक्त प्रतिबद्धताको १ हप्तापछि भएको शिवरबाट कुकुरलाई रेविजविरुद्धको सुइ र बाख्रा तथा पशुचौपायका लागि औषधि पाएपछि स्थानीय दुर्गा शाहीले आफूले जीवनरक्षा कार्यक्रममा गुनासो राखेको र पूरा गरेकोमा पशु सेवा कार्यालय र स्थानीय सरकारलाई धन्यवाद दिनुभयो ।
"भूकम्पपछिको प्रभाव यस क्षेत्रमा धेरै नदेखिए पनि किसानहरूका समस्या धेरै छन् । मैले यसै विषयमा सरोकारवाला निकायको ध्यानाकर्षण गराएको थिएँ । आज गाउँठाउँमै शिवर पनि आयो । यसले किसानहरूलाई धेरै राहत पुगेको छ ।" शाहीले भन्नुभयो ।
स्थानीय नन्दकला बस्नेतले पनि कार्यक्रम जीवनरक्षामा बिरामी परेका पशुचौपायको उपचारका लागि गाउँघरमा भर्पर्दो सेवा नपाइएको बताउनुभएको थियो ।
शिविरमा सहभागी उहाँले कुनै एक वडामा मात्र नभएर पायक पर्ने विभिन्न स्थानमा बेलाबखत शिविर चलाइरहन अनुरोध गर्नुभयो ।
शिविरअघि आयोजित कार्यक्रममा पशु अस्पताल तथा पशुसेवा कार्यालयका निमित्त प्रमुख शर्माले नागरिकका माग, आवश्यकताअनुसार आफूहरूले शिविर चलाउँदै आएको बताउनुभयो ।
"यहाँ शिविर चलाउनुपर्छ र सेवा दिनुपर्छ भन्ने बारेमा स्थानीयबासीले हामीलाई रेडियो कार्यक्रम जीवनरक्षामार्फत माग गर्नुभयो । कैयौँ किसानको गुनासो पनि मैले यो कार्यक्रममा सहभागी भएर सुनेँ र समाधानको कोसिस गरेँ ।" उहाँले थप्नुभयो । आजको शिविर चल्नुमा जीवनरक्षाको पनि भूमिका महत्वपूर्ण छ ।"
जुनीचाँदे गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर २ का अध्यक्ष रामबहादुर नेपालीले पशुचौपायमा देखिएको समस्या समाधान तथा उपचारका लागि पालिकाले नियमित रूपमा यस्ता शिविर चलाउने जानकारी दिँदै यस्को सुरुवात वडा नम्बर २ बाट गरिएको बताउनुभयो ।
कार्यक्रम जीवनरक्षामा किसानको पशुचौपायमा देखिएको समस्याका बारेमा भएको छलफलः
प्रकाशित मिति: आइतबार, पुस २२, २०८०, ००:०१