काठमाडौँ । नेपालमा कफी खेती विस्तार हुँदै गएको पाइएको छ । विगत १० वर्षमा कफी खेती थप १ हजार २ सय ७४ हेक्टरमा विस्तार भएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जनाएको छ ।
बोर्डका अनुसार आर्थिक वर्ष २०७१ ÷७२ मा २ हजार ३ सय ८१ हेक्टरमा कफी खेती गरिएकोमा अहिले १ हजार २७४ हेक्टर थप भएर ३ हजार ६ सय ५५ हेक्टर क्षेत्रफमा कफी खेती गरिएको छ ।
तर क्षेत्रफल बढे पनि कफीको उत्पादन भने बढ्नुको साटो घटेको छ । १० वर्षको तुलनामा कफी उत्पादन ६९ मेट्रिक टनले घटेको छ । १० वर्ष अघि ४ सय ६३ मेट्रिक टन उत्पादन भएको कफी अहिले ३ सय ९४ मेट्रिक टन मात्रै उत्पादन भएको बोर्डले जनाएको छ ।
बोर्डका उपनिर्देशक डा. लक्ष्मण पोखरेलका अनुसार २ वर्ष अघि कफी खेतीमा अज्ञात रोगका कारण क्षति पुगेको थियो । जसका कारण उत्पादनमा असर गरेको हो । नयाँ कफीको बिरुवा लगाएपछि त्यसले उत्पादन दिन कम्तीमा ३ वर्ष लाग्ने भएकाले अझै एक वर्ष कफी उत्पादन प्रभावित हुनेछ । त्यसपछि भने उत्पादन बढ्ने सम्भावना रहेको उहाँको भनाइ छ ।
नेपालमा कफीको माग समेत बढ्दै गएको छ । जसका कारण कफी आयात बढेको छ । ३ वर्ष अघि नेपालमा १२ करोड ७६ लाख बराबरको २ सय ७९ मेट्रिक टन कफी आयात भएकोमा आर्थिक वर्ष २०७९/८० मा भने ३२ करोड ५८ लाख बराबरको ४ सय ५० मेट्रिक टन कफी आयात भएको बोर्डले जनाएको छ ।
चालु आर्थिक वर्षको ५ महिनामा मात्रै पनि २१ करोड १९ लाखको कफी आयात भएको छ । कफी खाने क्रम बढ्दै जाँदा कफी आयात बढेको छ तर धेरै ठाउँमा कफी खेती हुन सक्ने भए पनि किसानलाई त्यसको सुनिश्चितता गराउन नसक्दा किसान आकर्षित हुन सकेका छैनन् । रोग किराको समस्या तथा लागत अनुसारको मूल्य नपाएका कारण धेरै किसानले कफीका बोट नष्ट गर्ने गरेका छन् ।
प्रकाशित मिति: आइतबार, पुस २२, २०८०, १६:२८