काठमाडौँ । सुकर्म साङ्गीतिक समूहका अध्यक्ष एवम् प्रसिद्ध सितारवादक प्रा. डा. ध्रुवेशचन्द्र रेग्मीको खोज, अनुसन्धान र लेखनका दुई पुस्तक 'नेपाली सङ्गीत दरबार 'र 'Mysic, Myth And Melody' लोकार्पण भएका छन् । पुस्तक काठमाडौँ मा आयोजित कार्यक्रममा प्रा. डा. अभि सुवेदी, प्रा. दीपक जङ्गम, प्रा. डा. वीणा पौड्याल र डा. लोचन रिजालले संयुक्त रूपमा लोकार्पण गर्नुभएको हो ।
"सङ्गीतको उत्पत्ति, सामवेददेखि लिएर राजा महाराजाहरू हुँदै सङ्गीत कसरी आजको समयसम्म आइपुग्यो भन्ने इतिहास पुस्तकमा छ ", कार्यक्रममा प्रा. अभि सुवेदीले भन्नुभयो, "त्यति मात्रै होइन, हाम्रो संस्कृति, धर्म, समाज र व्यवहारिकतासँग जोडिएको विषय सङ्गीतलाई यसरी अभिलेखीकरण गर्नु हाम्रो ठुलो प्राप्ति हो ।"
यस्तै सङ्गीतकार दीपक जङ्गमले भन्नुभयो- "सङ्गीत विषयको अभिलेखीकरणले पाठक, अनुसन्धाता र सङ्गीत र संस्कृतिको विषयमा अभिरुचि राख्नेलाई सहयोग पुग्नेछ । राज्यबाट कोरा मनोरञ्जनका रूपमा मात्रै हेरिँदै आएको विषयमा विशद पुस्तक लेखिनु आफैँमा गौरवको कुरा हो ।"
अर्का वक्ता गायक डा. लोचन रिजालले हाम्रै छिमेकी देशले समेत सङ्गीतबाट राष्ट्रिय आयमा ठुलो योगदान दिइरहेको अवस्थामा हामी अझै पेशागत रूपमा सम्मानित हुन नसकेको बताउनुभयो । "यो पुस्तकले सङ्गीतसँग जोडिएको हाम्रो इतिहास मात्रै भन्दैन, हाम्रो सामाजिक, आर्थिक, सांस्कृतिक, धार्मिक र कलाका वैभवका बारेमा पनि जानकारी दिन्छ र हामी कलामा कति सम्वृद्द थियौँ भन्ने दृष्टान्त प्रस्तुत गर्दछ" उहाँले भन्नुभयो ।
प्रा. वीणा पौड्यालले आफ्नो प्राध्यापनको विषय पनि संस्कृति भएको, हामी सबैको सामाजिक कर्मसँग सङ्गीतको सम्बन्ध जोडिएकाले यो रुचिको विषय भएको र सबैका निम्ति उपयोगी भएको बताउनुभयो ।
लेखक प्रा. ध्रुवेशचन्द्र रेग्मीले आफूले करिब दुई दशक लगाएर पुस्तक तयार बारेको बताउँदै नेपाली सङ्गीतको इतिहासमा सङ्गीतको पुस्तक थप्न पाएकोमा खुसी व्यक्त गर्नुभयो ।
'नेपाली सङ्गीतको आजसम्मको इतिहासलाई अभिलेखीकरण गरिएका' यी दुई पुस्तकलाई बुक हिलले बजारमा ल्याएको हो ।
प्रकाशित मिति: आइतबार, पुस २२, २०८०, १७:४६