सिमरा, बारा । मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजनाको परीक्षण सफल भएको छ । नेपाल र भारतको प्रथामिकतामा रहेको यो परियोजनाअन्तर्गत आज परीक्षण गर्दै पाइपबाट ईन्धन ल्याइएको हो ।
भारतको पटनाबाट मोतिहारी हुँदै नेपालको अमलेखगञ्जसम्म कुल २ सय ५९.७ किलोमिटर मध्ये नवनिर्मित मोतिहारीदेखी अमलेखगञ्जसम्मको ६९.७ किलोमिटर क्षेत्रको पाइप परीक्षण गरिएको हो ।
पाइपमार्फत पटनाबाट गत बुधबार दिउँसो २ बजे पठाईएको डिजल आज बिहान साढे ६ बजे अमलेखगञ्ज डिपोमा आईपुगेको परियोजना प्रमुख ईन्जिनियर प्रदीप यादवले जानकारी दिनुभयो ।
प्रतिघण्टा तीन लाख लिटर डिजेल भित्र्याउन सकिने योे पाइपलाइनबाट परीक्षणका क्रममा एक लाख लिटर डिजल ल्याईएको छ ।
भारतको मोतीहारीदेखी अमलेखगञ्जसम्म ईन्धन ल्याईने भनिए पनि तत्कालका लागी पटानाबाटै ईन्धन ल्याईनेछ ।
मोतीहारी डिपोका प्रमुख आलोक कुमार मिन्जले २ महिनापछि भने मोतिहारीबाट ल्याउने व्यवस्था गरिने जानकारी दिँदै अहिले त्यहाँ मर्मतको काम भइरहेको बताउनुभयो ।
‘पाइपबाट पहिलो चरणमा डिजेल भित्र्याईएको छ,पेट्रोल र मट्टीतेल ल्याउने बारेमा पनि अध्ययन थालिने छ ।’ ईन्जिनियर शरद पौडेलले भन्नुभयो ।
पाइपलाइनको परीक्षण गरिए पनि औपचारिक रूपमा भने उद्घाटनपछि मात्रै सञ्चालनमा आउनेछ । भारतबाट पाइपमार्फत ईन्धन भित्रिँदा नेपाल आयल निगमको वार्षिक दुई अर्ब रुपैयाँ खर्च कम हुने छ ।
अडियो सुन्नुहोस्ः
प्रकाशित मिति: शनिबार, साउन ४, २०७६, १०:१९