काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रिय सभा निर्वाचनका लागि १० उम्मेदवार टुंगो लगाएको छ ।सोमबार बिहानपख सकिएको संसदीय बोर्डको बैठकले उम्मेदवार छनोट गरेको नेताहरूले जानकारी दिएको छ ।
जसअनुसार कोशीमा कृष्णप्रसाद सिटौला, मधेशमा आनन्दप्रसाद ढुंगाना, वाग्मतीमा विष्णुदेवी पुडासैनी र जितजङ्ग बस्नेत उम्मेदवार बन्नुहुने भएको छ । पुडासैनी महिला संघ काठमाडौंका पूर्व अध्यक्ष र बस्नेत तरुण दलको पूर्व अध्यक्ष हुन् । गण्डकीमा किरणबाबु श्रेष्ठ र पदमबहादुर परियार लुम्बिनीमा विष्णुदेवी सापकोटा, कर्णालीमा कृष्ण रोकायातथा सुदूरपश्चिममा नारायणदत्त भट्ट र बलदेव बोहराले टिकट पाउनुभएको छ । १० जनामध्ये ७ जना संस्थापन पक्षका र ३ जना शेखर गगन पक्षका रहेका छन् ।
४ जना दाबी गरेकामा तीन जना मात्रै पाएपछि महामन्त्री गगन थापाले लिखित असहमति जनाउनुभएको छ । मधेशमा मधेशी मूलका व्यक्ति नभएको भन्दै नेता अर्जुन नरसिंह केसी र बलबहादुर केसीले पनि लिखित असहमति जनाउनुभएको छ ।
एमाले, माओवादी केन्द्र, जसपा र राप्रपाले हिजै उम्मेदवार टुङ्गो लगाएका छन् ।
माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ ।
प्रकाशित मिति: सोमबार, पुस २३, २०८०, ०६:४६