काठमाडाैँ । काठमाडौँबाट मङ्गलवार पक्राउ परेका रामबहादुर बम्जनलाई प्रहरीले सार्वजनिक गरेकाे छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले आज पत्रकार सम्मेलन गरी उनलाई सार्वजनिक गरेकाे हो । उनी बसेको घरबाट तीन करोड तीन लाख ७५ हजार ५ सय नेपाली रुपैयाँ र १७ देशका ३० लाख ९२ हजार ४०६ रुपैयाँ बरामद गरेको पनि जनाएको छ ।
बम्जनले ५ करोड रुपैयाँको ल्यान्ड क्रुजर गाडी चढ्ने तरखर गरिरहेको र त्यसका लागि उनले धुम्बाराहीको एउटा कम्पनीलाई ३ करोड रुपैयाँ एडभान्स दिइसकेको पाइएको पनि सीआईबीले जनाएको छ । अहिले उनले प्रदेश ३-०१- ०२४ च ६७२९ नम्बरको महङ्गो टोयटा फर्च्युन गाडी चढ्ने र १४ वटा मोबाइल फोन बोक्ने गरेको पनि सीआईबीले जनाएको छ ।
उनको साथबाट ४ वटा स्कुटर, २ वटा ल्यापटप र ५ वटा आई प्याड तथा ट्याब पनि प्रहरीले बरामद गरेको छ ।
२०७१ साउनमा बाराको हलखोरियामा आफू बमजनबाट बलात्कृत भएको भन्दै एक अनुयायीले उजुरी दिए पनि कारबाही भएको थिएन । त्यसको साढे पाँच वर्षपछि २०७६ माघमा जिल्ला अदालत सर्लाहीले बमजनविरुद्ध पक्राउ पुर्जी जारी गरे पनि प्रहरीले पक्राउ गर्न सकेको थिएन ।
बम्जनले बारा, सिन्धुली लगायत ठाउँमा सार्वजनिक सम्पत्ति ओगटेर आश्रम चलाइरहे पनि प्रहरीले पक्राउ नगरेको भन्दै आलोचना हुने गरेको थियो । पछिल्लो समय भने उनी फरार सूचीमा रहेका थिए ।
उनलाई जिल्ला प्रहरी कार्यालय सर्लाही पठाएर कारबाही र अनुसन्धान प्रकृया अघि बढाउने प्रहरीले जनाएकाे छ ।
प्रकाशित मिति: बुधबार, पुस २५, २०८०, १६:३५