काठमाडौँ । जिल्ला अदालत काठमाडौँले क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद र ३ लाख रुपैयाँ जरिवानाको सजाय सुनाएको छ।
यसअघि बलात्कारको अभियोगमा दोषी ठहर भएका लामिछानेलाई न्यायाधीश शिशिरराज ढकालको इजलासले ८ वर्ष कैद, ३ लाख जरिवाना र पीडितलाई २ लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको हो ।
न्यायाधीश ढकालकै इजलासले यही पुस १३ गते सन्दीपलाई किशोरी बलात्कार मुद्दामा दोषी ठहर हुने ठहर गरेको थियो । फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐनको व्यवस्थाका आधारमा सजाय तोक्नका लागि आज पेसी तोकिएको थियो।
पीडितको नाजुक आर्थिक अवस्थाको फाइदा उठाएर उनले किशोरीलाई बलात्कार गरेको ठहर गरेको अदालतले किशोरी नाबालिग भने नरहेको ठहर गरेको थियो ।
गौशाला २६ नाम दिइएकी किशोरीले सन्दीपले आफूलाई बलात्कार गरेको र आफू नाबालिग रहेको दाबी गर्दै उजुरी गरेपछि प्रहरीले सन्दीपलाई पक्राउ गरेको थियो ।
नेपाली क्रिकेट टोलीका पूर्व कप्तान समेत रहेका लामिछानेविरुद्ध २०७९ कात्तिक १४ गते जिल्ला अदालत काठमाडौँमा जबरजस्ती करणीको मुद्दा दायर भएको थियो ।
त्यसपछि किशोरी नाबालिग रहे नरहेको विषयमा लामो बहस पछि अदालतले उनी १८ वर्ष पुगेको तर सन्दीपले उनको कमजोर आर्थिक अवस्थाको फाइदा उठाएको फैसला गरेको थियो ।
प्रकाशित मिति: बुधबार, पुस २५, २०८०, १७:०३