काठमाडौँ । २०७६ सालदेखि नवीकरण हुन नसकेको संस्था नेपाल ५ वर्षपछि नवीकरण भएको छ। यही पुस १८ गते जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट संस्था नवीकरणको प्रमाणपत्र प्राप्त भएको नेपाल रेडक्रस सोसाइटीका महामन्त्री भूपतिलाल श्रेष्ठले जानकारी दिनुभयो । यसअघिको कार्यसमितिमा विवाद हुँदा लामो समयदेखि संस्था नवीकरण हुन सकेको थिएन।
बुधवार आयोजित पत्रकार सम्मेलनमा महामन्त्री श्रेष्ठले आयोजना गरी संस्था नवीकरण भएसँगै कानुनी वैधता प्राप्त गरिएको र यसले रेडक्रस अभियानकर्मी, शुभचिन्तक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यक्ति तथा संस्थामा सकारात्मक सन्देश प्रवाह गरेको बताउनुभयो।
विपद्का समयमा मानवीय सेवामा खट्नुपर्ने संस्थाको नेतृत्वमा असमझदारी बढ्दा रेडक्रसले प्रभावकारी काम गर्न सकेको थिएन। ०७६ चैतमा तय भएको विशेष महाधिवेशन हुन नसकेपछि संस्था नवीकरणलगायत संस्थाका कामकारबाही प्रभावित भएका थिए भने नहुँदा कानुनी वैधतामा समेत प्रश्न उठेको थियो।
गत साउन २ र ३ गते सम्पन्न रेडक्रसको विशेष महाधिवेशनले प्रा. सुदर्शनप्रसाद नेपालको अध्यक्षतामा ३३ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरेको थियो। पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले केही समयदेखिको असहज अवस्था अब अन्त्य भइसकेको र अन्तर्राष्ट्रिय रूपमा समेत यो कार्यसमितिले वैधानिकता पाएकाले कसैको हल्लाको पछि लाग्नु नहुने बताउनुभयो । अब रेडक्रस सोसाइटीमा कुनै समस्या नरहेको तर केही व्यक्तिले त्यसलाई गिजोल्न खोजिरहेकाले त्यस्तो प्रवृत्तिप्रति सचेत रहनुपर्ने सभापति नेपालको भनाइ छ ।
लामो समयदेखि नवीकरण हुन नसकेको संस्था नवीकरण हुनु नै वर्तमान कार्यसमितिको ठुलो उपलब्धिका रूपमा रहेको अध्यक्ष नेपाल बताउनुभयो। आफूहरू संस्थाको नेतृत्वमा आएपछि रेडक्रसको साख बढेको उहाँको दाबी छ ।
यसैबिच फागुनको अन्तिम साता विधान अधिवेशन गर्ने जानकारी पत्रकार सम्मेलनमा दिइएको छ। नेपालको संविधान, अन्तर्राष्ट्रिय आधारभूत मापदण्ड र राष्ट्रिय आवश्यकताका आधारमा विधान संशोधनका लागि आगामी फागुन २७ र २८ गते विधान अधिवेशन गर्ने कार्यसूची तय गरिएको रेडक्रसका महामन्त्री श्रेष्ठले बताउनुभयो। त्यसका लागि सोसाइटीले मस्यौदा तयारी पारी मातहतका प्रदेश, जिल्ला र उपशाखा स्तरमा सुझाव सङ्कलनका लागि पठाइसकिएको पनि उहाँले जानकारी दिनुभयो। महामन्त्री श्रेष्ठले रेडक्रस ऐन निर्माणका लागि पनि आफूहरूले पहल गरिरहेको पनि बताउनुभयो ।
रेडक्रस ऐन निर्माणको प्रमुख दायित्व सरकार र संसद्को भएको बताउँदै अध्यक्ष नेपालले आफूहरूले सरकारलाई घचघच्याइरहेको उल्लेख गरेका थिए। अबको विधानमा संस्थाको साङ्गठनिक तहमा पालिका तहलाई पनि समेट्ने प्रयास भइरहेको महामन्त्री श्रेष्ठले जानकारी दिनुभयो ।
सोसाइटीका उपमहामन्त्री मनोजकुमार थापाले नेपाल रेडक्रसको हालको कार्यसमिति वैधानिक रूपमा निर्वाचित भएर आएकाले काम गर्न कहीँ कतैबाट पनि अवरोध नभएको दाबी गर्नुभयो ।
रेडक्रसले बझाङ भूकम्पबाट प्रभावित बनेका ५ हजार परिवारलाई राहत वितरण, २५० परिवारको लागि अस्थायी आवास निर्माणमा सहयोग र ६ सय परिवारलाई बहुउद्देश्यीय नगद सहायता प्रदान गरेको बताएको छ। यस्तै जाजरकोट भूकम्प प्रभावित ५ हजार परिवारलाई राहत वितरण, ६०० परिवारलाई अस्थायी आवास निर्माणका लागि नगद सहयोग र ४ हजार परिवारलाई बहुउद्देश्यीय नगद सहायता प्रदान गरेको छ ।
नेपाल रेडक्रसका सात प्रदेश, ७७ जिल्ला शाखा, १ हजार ५६४ उपशाखा तथा ६ हजार ८३२ जुनियर युवा रेडक्रस सर्कलमा १२ लाखभन्दा बढी स्वयंसेवक आबद्ध छन्।
रेडक्रसले अब नियमित पत्रकार सम्मेलन गरी संस्थाका गतिविधि सार्वजनिक गराउने पनि जानकारी गराएको छ।
प्रकाशित मिति: बुधबार, पुस २५, २०८०, २२:१६