जाजरकोट । जाजरकोट भूकम्प गएको २ महिनासम्ममा पनि भत्किएका वा चर्किएका घरको भग्नावशेष हटाउन नसकेका २ एकल महिलाले सहयोग पाएका छन् ।
जाजरकोटको रेडियो खलङ्गाले रुकुम पश्चिम र जाजरकोटका सामुदायिक रेडियोहरूको सहकार्यमा उत्पादन गर्दै आएको कार्यक्रम ‘जीवनरक्षा’ मा टेलिफोन गरी आफ्नो समस्या सुनाएका जाजरकोटको भेरी नगरपालिका वडा नम्बर ४ का रमाकुमारी शाह र नलगाड नगरपालिका ५ का पार्वती कामीले सहयोग पाउनुभएको हो ।
कार्यक्रम ‘जीवनरक्षा’ को भाग २४ मा जोखिममा रहेका घर टहराबाट काठ, ढुङ्गा, माटो हटाउँदा ध्यान दिनुपर्ने कुरा र भूकम्प प्रभावितलाई परेको समस्याको बारेमा यूएनडीपीको तर्फबाट जाजरकोटको भेरी नगरपालिकामा खटिएका ईन्जिनियर गुरुराज संज्यालसँग कुराकानी गरिएको थियो ।
कार्यक्रमपछि स्थलगत रूपमा गरिएको अध्ययनपछि आफूहरूले भग्नावशेषका सामग्री हटाउनका लागि आर्थिक सहयोग गर्ने निर्णय लिएको ईन्जिनियर संज्यालले जानकारी दिनुभयो ।
यसअन्तर्गत भूकम्प प्रभावित दुबैले प्रति घर दुई जना सदस्यले तीन दिन गर्ने श्रमअनुसारको पारिश्रमिक पाएका छन् ।
उक्त पारिश्रमिक जिल्लामा निर्धारण गरिएको दर अनुसार दिइएको छ ।
प्रकाशित मिति: बिहीबार, पुस २६, २०८०, ०९:१३