काठमाडाैँ । नेपाल क्रिकेट संघ क्यानले राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान समेत रहेका क्रिकेटर सन्दीप लामिछानेलाई निलम्बन गरेको छ। जिल्ला अदालत काठमाडौँले बलात्कारी ठहर गरी ८ वर्ष कैद तथा ३ लाख रुपैयाँ जरिवाना र २ लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने फैसला गरेको भोलिपल्ट क्यानले लामिछानेलाई निलम्बन गरेको हो ।
सन्दीपलाई जबरजस्ती करणी मुद्दामा कसुर ठहर गरी सजाय निर्धारण भएको हुनाले अदालतको आदेश मान्दै क्यानले उनलाई घरेलु तथा अन्तर्राष्ट्रिय क्रिकेट खेल गतिविधिबाट निलम्बन गरिएको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले निकालेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
जिल्ला अदालत काठमाडौँका न्यायाधीश शिशिरराज ढकालको इजलासले पुस १३ गते लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गर्दै हिजो सजाय तोकेको थियो ।
लामिछानेले गौशाला २६ (परिवर्तित नाम) १८ वर्ष उमेर पुगेको तर उनको कमजोर आर्थिक अवस्थाको फाइदा उठाएर बलात्कार गरेको ठहर गरेको थियो।
२०७९ भदौ २१ गते गौशाला २६ ले प्रहरी वृत्त गौशालामा लामिछानेविरुद्ध बलात्कारको जाहेरी दर्ता भएको थियो । त्यस बेला क्रिकेट खेल्न बाहिर रहेका लामिछाने असोज २० गते नेपाल फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए। उजुरी लगत्तै क्यानले लामिछानेलाई निलम्बन गरेको थियो। मुद्दाको प्रारम्भिक सुनुवाइ गर्दै काठमाडौँ जिल्ला अदालतले कात्तिक १८ गते लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाएकोमा उच्च अदालत पाटनले पुस १८ गते २० लाख रुपैयाँ धरौटीमा रिहा गरेको थियो। सर्वोच्च अदालतले विदेश खेल्न जाने अनुमति दिएपछि क्यानले निलम्बन फुकुवा गर्दै सन्दीपलाई राष्ट्रिय टिममा राखेको थियो।
प्रकाशित मिति: बिहीबार, पुस २६, २०८०, ११:११