सुर्खेत । ३४ औँ राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । बिहीबार भएको फाइनलमा सशस्त्र प्रहरीको एपीएफ क्लबलाई ३–१ को सेटमा हराउँदै उपाधि जितेको हो । उपाधिसँगै पुलिसले १ लाख रुपैयाँ पुरस्कार पाएको छ।
पहिलो सेट २५–२२ ले हारेको पुलिसले त्यसपछिका ३ सेटमा लगातार जित हात पार्दै उपाधि जित्न सफल भएको हो । पुलिस क्लबले तीन सेट क्रमशः २५–१९, २५–१८ र २५–२३ ले जित्यो ।
पुलिसले समूह चरणमा एपीएफसँग हारेको थियो । यस्तै, प्रतियोगितामा गण्डकी प्रदेश तेस्रो भएको छ । आर्मीलाई ३–१ को सेटमा पराजित गर्दै गण्डकी तेस्रो भएको हो । व्यक्तिगततर्फ पनि पुलिसकै खेलाडीको वर्चस्व रहेको छ। पुलिस क्लबका मुख्य स्पाइकर रबिन चन्दले सर्वोत्कृष्ट खेलाडी र पहल गहतराजले उदीयमान खेलाडी घोषणा हुँदा पुलिसकै इम राना उत्कृष्ट सेटर, रबिन नगरकोटीले उत्कृष्ट ब्लकर, भीम गाहा लिवेरो र चन्द्र कुँवर उत्कृष्ट प्रशिक्षक बन्नु भएको छ।
यस्तै एपीएफका हेमन्त मल्ल उत्कृष्ट स्पाइकर र गण्डकीका जीवन सुनार उत्कृष्ट सर्भर चुनिनुभएको छ। पुस २० गतेबाट सुरु भएको प्रतियोगितामा ३ विभागीय र ७ प्रदेश गरी १० टोलीले प्रतिस्पर्धा गरेका थिए ।
प्रकाशित मिति: बिहीबार, पुस २६, २०८०, १७:१७