काठमाडौँ । नेपाल सरकार र विभिन्न नागरिक समाजसँगको समन्वयमा वर्ल्ड भिजन इन्टरनेसनल नेपालले ६ वर्ष लामो ‘नेपाली जुटौँ, बालविवाह रोकौँ’ अभियानको प्रभाव प्रस्तुत गर्ने कार्यक्रम काठमाडौँमा विभिन्न कार्यक्रम गरी समापन गरेको छ ।
कार्यक्रममा बाल अधिकार विज्ञहरू र विभिन्न सरोकारवालाहरूको सहभागिता रहेको थियो भने राष्ट्र स्तरीय नीति संवादको सत्रमा दिगो विकास लक्ष्यहरू र बालविवाह अन्त्य गर्ने राष्ट्रिय रणनीति २०१६ अनुरूप सन् २०३० सम्ममा नेपालबाट बालविवाह निर्मूल गर्ने सरकार, नागरिक समाज, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको भूमिका र दायित्वबारे छलफल गरिएको छ ।
अभियान कार्यान्वयनको अवधिभर बालविवाह अन्त्यका लागि ४४ वटा नीति तर्जुमा गर्न विभिन्न तहका सरकारसँग सहकार्य गरिएको जानकारी दिइएको छ ।
कार्यक्रममा वर्ल्ड भिजनद्वारा गरिएको अनुसन्धानका निष्कर्ष, अभियानबाट प्रभावित बालबालिकाका कथा र बालविवाह अन्त्य गर्न प्रतिबद्ध बाल केन्द्रित संस्थाहरूको सञ्जाल ‘जोइनिङ फोर्सेस’द्वारा तयार गरिएको नीति विश्लेषणसमेत प्रस्तुत गरिएको थियो ।
वर्ल्ड भिजन इन्टरनेसनल नेपालका राष्ट्रिय निर्देशक रोजलिन एच. गेब्रियलले सन् २०३० सम्ममा नेपालमा बालविवाह अन्त्य गर्न सरकारी र गैरसरकारी निकायबिचको प्रभावकारी सहकार्यको आवश्यकतामा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, “यस अभियानले सङ्घीय, प्रादेशिक र स्थानीय तहका ६५ भन्दा बढी साझेदारहरूको सहयोगमा ११ वटा बालमैत्री स्थानीय सरकारको घोषणामा सहजीकरण गर्न सफल रह्यो र वर्ल्ड भिजनका कार्यक्षेत्रमा ५ सय ६१ बालविवाह प्रत्यक्ष रूपमा रोक्न सक्षम भएको छ । अभियानले राष्ट्रका ६ वटा प्रदेशका ४६ नगरपालिकालाई समेटेको थियो । २४ वटा गाउँपालिका र नगरपालिकाले बालबालिका र जबरजस्ती विवाह अन्त्य गर्ने रणनीति/योजना/प्रक्रिया बनाएका छन् भने १० वटा गाउँपालिका र नगरपालिकाले आ–आफ्नो नगरपालिकामा रणनीतिलाई अनुमोदन र कार्यान्वयनसमेत गरिसकेका छन् । हाम्रो प्रयास यहीँ टुङ्गियो भन्ने होइन । बालविवाह विरुद्धका काममा नेपालले केही उल्लेखनीय प्रगति गरेता पनि नेपालमा अझैँ ३ जनामध्ये १ जना बालबालिकाको १८ वर्ष नपुग्दै विवाह हुने गरेको छ र यस विषयमा निरन्तर ध्यान केन्द्रित हुनु आवश्यक छ । वर्ल्ड भिजन यस कार्यशाला निरन्तरता दिन प्रतिबद्ध छ र बालविवाह अन्त्य गर्ने प्रयासलाई जारी राख्न सरकार र सबै सरोकारवालाहरूलाई आग्रहसमेत गर्दछ ।”
कार्यक्रमका प्रमुख अतिथि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले बालविवाह रोक्न वडा कार्यालयबाट स्वीकृत लिने व्यवस्था गर्नुपर्ने बताउनुभयो ।
मन्त्री आचार्यले वडाले सिफारिस दिएपछि मात्रै विवाह गर्न पाउने प्रावधान नराखेसम्म बालविवाह रोक्न नसकिने बताउनुभयो । कार्यक्रममा प्रतिनिधि सभा सदस्य आरजु राणा देउवाले पनि स्वीकृति लिएर मात्र विवाह गर्न पाउने व्यवस्था गर्ने हो भने बालविवाह र जबरजस्ती विवाह रोकिने दाबी गर्नुभयो । ‘विवाह दर्ता गर्नु पहिला नै लाइसेन्स लिनुपर्यो । त्यो बेला नागरिकता हुनै प¥यो । यो भयो भने मायामा फसाएर विवाह गर्ने क्रम र मानव बेचबिखन पनि रोकिन्छ’ उहाँले भन्नुभयो ।
वर्ल्ड भिजन इन्टरनेसनल नेपालका पैरवी तथा अभियान व्यवस्थापक श्याम अधिकारीले छलफललाई अघि बढाउँदै विभिन्न सङ्घसंस्था, प्रदेश सरकार र स्थानीय पालिकाले अभियानलाई सफल बनाउन सहयोग गरेको बताउनुभयो ।
इलामको फिक्कल गाउँपालिकाका अध्यक्ष पार्वती सुनुवारले पालिकाले बालविवाह रोक्नलाई गरेको सफल अभ्यासहरूको बारेमा जानकारी गराउनुभएको थियो ।
सामुदायिक रेडियो प्रसारक संघ एवं सामुदायिक सूचना नेटवर्क सीआईएनका मेनेजर दीपक आचार्यले नेपाली जुटौँ, बालविवाह रोकौँ अभियानमा रेडियो र पत्रकारिता जगतबाट भएका सफल अभ्यासहरूको बारेमा जानकारी गराउनुभयो । अभियानका क्रममा ३६ हजारभन्दा बढी व्यक्तिको आवाज सङ्कलन गर्ने र बालविवाह अन्त्यमा प्रतिबद्धता जनाउने काम गर्न सफल भएको उहाँको भनाइ थियो । आचार्यले बालविवाहलगायत कुरीति र कुसंस्कार अन्त्यका लागि सञ्चारक्षेत्रको भूमिका महत्वपूर्ण रहेकोले आगामी दिनमा पनि सबैबीच हातेमालो गरेर अघि बढ्नुपर्ने बताउनुभयो ।
अन्तर धार्मिक राष्ट्रिय सञ्जाल (निरन) नेपालका अध्यक्ष भिक्षु पिया दासीले धर्मगुरुले रेडियोबाट दिएको प्रवचन र अनुरोधका कारण धेरै बालविवाह रोकिएको बताउदै अभियान निरन्तर गर्नुपर्ने बताउनुभयो । बालविवाह नगराउने धर्मगुरुहरूको घोषणा र अडानका कारण पनि धेरै बालविवाह रोकिएको उहाँले सुनाउनुभयो ।
कार्यक्रममा बाल क्लबको सदस्य तथा बालविवाह विरुद्ध अभियानकर्ता दिव्याले भन्नुभयो, ‘हामी हाम्रो गाउँमा बालविवाह रोक्न काम गरिरहेका छौँ र बालविवाहका कारण उत्पन्न हुने समस्या र यस विरुद्धको कानुनबारे अभिभावकलाई सचेत गराउँदै छौँ । तर, हाम्रो समुदायमा धेरै परिवारले आर्थिक अभावका कारण छोरीको चाँडै विवाह गर्ने गर्छन् । छोरालाई काम खोज्न भारत पठाइन्छ, र छोरीहरूको विवाह गरिन्छ । उनी बालविवाहबाट बचेकी एक बालिका हुन् जो अहिले वर्ल्ड भिजन र साझेदार संस्थाहरूको सहयोगमा आफ्नो समुदायमा बालविवाह रोक्न सक्रिय रूपमा संलग्न छिन् ।’
‘नेपाली जुटौँ, बाल विवाह रोकौँ’ अभियान सन् २०१७ को अगस्टमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रणालीको सुदृढीकरण, बालबालिका, किशोर किशोरी र उनीहरूको परिवारको आनीबानीमा परिवर्तन र नीतिको प्रभावकारी कार्यान्वयनमा विशेष ध्यान केन्द्रित गर्दै अभियानमार्फत प्रभाव पार्ने उद्देश्यसहित उद्घाटन गर्नुभएको थियो ।
प्रकाशित मिति: शुक्रबार, पुस २७, २०८०, १४:२३