काठमाडौँ । थारु समुदायले काठमाडौँको टुँडिखेलमा २ दिन माघी महोत्सव मनाउने भएको छ । बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गरी थारु राष्ट्रिय माघी महोत्सव, मूल आयोजक समितिका संयोजक प्रेमीलाल चौधरीले पुस २९ गते र माघ १ गते महोत्सव मनाउने जानकारी दिनुभयो । २०५९ सालदेखि काठमाडौँमा माघी महोत्सव मनाउँदै आएकोमा थारु भाषा, संस्कृति र जनचेतनाको लागि दुई दिन महोत्सव मनाउने निर्णय गरेको उहाँले बताउनुभयो ।
यस वर्ष 'थारु संस्कृतिको संरक्षण, संवर्द्धन र प्रवर्द्धनमा हाम्रो अभियान, समानुपातिक समावेशी पहुँचका लागि सम्पूर्णमा आह्वान' भन्ने नारासहित माघी पर्व मनाउन लागिएको उहाँले बताउनुभयो । माघी महोत्सवको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने उहाँले बताउनुभयो ।
उहाँका अनुसार माघी सफल बनाउन मूल आयोजक समिति र विभिन्न उपसमिति गठन गरिएको छ ।
२० भन्दा धेरै थारु सङ्घ संस्थाको संयुक्त आयोजनामा हुने माघी महोत्सवमा थारु खानपिन र परिकार, प्रदर्शनी एवं बिक्री, थारु सीप हस्तकला, पुस्तक प्रदर्शनी लगायतका करिब १०० भन्दा बढी स्टलहरू रहने उहाँले जानकारी दिनुभयो । महोत्सवको प्रचारका लागि काठमाडौँको तीनकुनेबाट भृकुटीमण्डपसम्म शनिवार बिहान ७ बजे मोटरसाइकल र्याली तथा माघ १ गते बिहान १० बजे थारु संस्कृति, भेसभुसा, बाजा जागासहित वसन्तपुरमा जम्मा भई झाँकी प्रदर्शनसहित टुँडिखेलमा भेला हुने उहाँले बताउनुभयो ।
उहाँका अनुसार पुस २९ गते टुँडिखेलमा रक्तदान कार्यक्रम र साँझमा जिता मार्ने कार्यक्रम राखिएको छ । यस्तै महोत्सवमा थारु सांस्कृतिक नृत्य तथा गीत मघौटा, सखिया, हुर्दगंवा, झुम्रा, छोक्रा, दिन्नचुवा, रागनी, बडोनाच, होरी, झर्रा, लठ्हवा, मुग्रंहवा नाँचसहित दुई दर्जनभन्दा धेरै नृत्य तथा गीतको प्रस्तुती रहने सांस्कृतिक उपसमितिका संयोजक नन्दुराज चौधरीले जानकारी दिनुभयो ।
महोत्सवमा थारु समुदायले माघी पर्वमा खाने विशेष खाना परिकार ढिक्री, अन्डिक भात, विचरी, तिलको लड्डू, लाईमुरी, भुजा, बन्डी जाँडको झोल, दारु, केराको तरुवा, सखरखण्ड, खरिया, सुँगुर र बङ्गुरको मासु, परेवाको मासु, माछा, घोँघी, गंगटा सिधरा, मसुलारका साथै बालू सिन्की, बयरको चटनी, वरिया, चामलको गुरी, काथ्या रोटी, अन्डीक रोटी, तेलपौर रोटी, झभ्झा रोटी लगायत विभिन्न परिकारहरुको राखिने छ ।
यसका साथै हस्तकलाका सामग्रीहरु भेषभूषाः गोन्या (गुन्यु) चोल्या (चोलो), लेहङा, भेग्वा, अंगुछा, धोती, लंगौटी, धोती, कुर्ता, आँचर खडकी, घंघरिया, चौबन्दी टोपी, मन्द्रक झालर सहित अन्यमा ढकीया, ढक्ली, डेल्वा, भौंका, भौंकी, फेर्वा, पैनसटोपी, डेलिया आदि हस्तकलाका सामग्री प्रदर्शनीमा समेत राखिने छ ।
देशभरका थारु समुदायको उपस्थिति रहने बताइएको महोत्सवमा करिब १५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजक समितिले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, पुस २७, २०८०, १७:३०