बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिकामा कृषि सामग्री मेला आयोजना गरिएकाे छ । यूएसएडको आर्थिक सहयोग तथा राप्तीसोनारी गाउँपालिका र उद्योग वाणिज्य महासंघ कृषि उद्यम केन्द्रको सहकार्यमा सिमिट नेपालले मेला आयोजना गरेको हो ।
बाँके, बर्दिया र सुर्खेत जिल्लाका किसानलाई लक्षित गरी आयोजित मेलामा किसानलाई कृषि सामग्री र कृषि बजारको उपलव्धता लगायतबारे समन्वय तथा परामर्श दिने उद्देश्य राखिएको आयोजक नेपाल बीउ तथा मल परियोजनाले जनाएको छ ।
मेलामा बीउ, मल, मेसिनरी, बिरुवा संरक्षण, सिँचाइ जस्ता बजारमा उपलब्ध गुणस्तरीय कृषि सामग्री र वित्त, बीमा, बाली सल्लाहलगायत सेवामा किसानको जागरूकता र पहुँच बढाउने प्रयास गरिएको सिमिट नेपालका फिल्ड रिसर्च टेक्निसियन पप्पु यादवले बताउनुभयो ।
मेलाबाट कृषि सामग्रीको माग सृजना गरी कृषि व्यवसाय बढाउन किसान र कृषि बजार अभिकर्ताबीचको सम्बन्धलाई सुदृढ गर्न सजिलो भएको आयोजकले बताएको छ ।
मेलामा लुम्बिनी प्रदेशका सहरी विकास मन्त्री कृष्णा केसीले कृषि मेलाले कृषि क्षेत्रमा ठूलो टेवा पुग्ने र किसानहरुलाई कृषि क्षेत्रमा लाग्न थप प्रेरणा दिने बताउनुभयो । उहाँले प्रदेशबाट पनि यस्ता किसिमका कार्यक्रम र परियोजनालाई आवश्यक सहयोग, सहकार्य र समन्वय उपलब्ध हुने प्रतिबद्धता जनाउनुभएको थियो ।
मेलाको सुभारम्भ राप्ति सोनारी गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले गर्नुभएको थियो ।
कार्यक्रममा मेलाको उद्देश्य, विशेषता र कृषि क्षेत्रको समग्र विकासका बारेमा सिमिट नेपालका बिजनेस डेभलपमेन्ट म्यानेजर डा. नारायणप्रसाद खनालले बताउनुभएको थियो । मेलामा धान र मकै जस्ता वसन्त ऋतुका बालीका गुणस्तरीय कृषि सामग्रीका बारेमा जानकारी लिन किसान सहित ५ सयभन्दा धेरैको सहभागि भएका थिए ।
प्रकाशित मिति: शनिबार, पुस २८, २०८०, १७:५०