काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले लामो समयदेखि अलपत्र विकास आयोजनाहरू तत्काल निर्माण गर्न सरकारलाई दबाब दिने भएको छ । पार्टी उपसभापति तथा सांसद डिपी अर्यालका अनुसार अलपत्र आयोजनाहरुमा पैदलयात्रा गरेर सरकारलाई दबाब दिइने भएको हो। माघ ३ गते बस्ने पार्टीको केन्द्रीय समितिको बैठकले यसको विस्तृत कार्ययोजना पारित गर्ने भए पनि लामो समयदेखि अलपत्र र नागरिकले सास्ती व्यहोरिरहेका विकास आयोजना प्राथमिकतामा राखेर पैदल यात्रा गरिने उहाँले बताउनुभयो ।
सांसदहरुको नेतृत्वमा रहेका पूर्वाधार विभागले गरिरहेको अध्ययनले छनोट गरेका आयोजनामा सबे सांसदले पैदलयात्रामार्फत् दबाब सिर्जना गर्ने उहाँले बताउनुभयो । अब २१ जना सांसदले नै एक एक आयोजनाको नेतृत्व गर्ने गरि तयारी भइरहेको हाे ।
रास्वपाले यसअघि पुस ९, १० र ११ गते नारायणघाट–बुटवल खण्डअन्तर्गत ११३ किलोमिटर सडकमा पैदलयात्रा गरेको थियो। थप आयोजनामा पनि पैदल यात्रा गर्ने बारे रास्वपाका अध्यक्ष रवि लामिछानेले शनिबार पनि एक कार्यक्रममा उल्लेख गर्नुभएको थियो ।
ठेकेदारले म्याद अवधिभर निर्माण पूरा नगरेपछि त्यस क्षेत्रका नागरिकले सास्ती पाएका कारण निर्माण पूरा गर्न दबाब बढाउन पैदलयात्रा गरिएको रास्वपाको भनाइ छ ।
प्रकाशित मिति: आइतबार, पुस २९, २०८०, १०:४४