शिवनाथ यादव
वीरगन्ज ।
पुस माघ महिनाको जस्तो पारिलो घाम बनेर
यो आकाश धरतीबिचको कुहिरो हटाइदेऊ तिमी...
चाँदनी शाहका कविताको हरफ जस्तै तराई मधेसका नागरिक अहिले यस्तै पुकार गरिरहेका छन् । पुस माघ महिनामा यसै पनि घामको महत्त्व हुने यो बेलामा मध्य तराईमा घामको अनुहार देख्न नपाएको हप्ता दिन भइसक्यो ।
बाक्लो हुस्सु, शितलहर र चिसोबाट बच्न कतै पराल त कतै दाउरा बालेर आगो तापिरहेको देख्न सकिन्छ ।
बिहान र बेलुका अत्यधिक जाडो हुने गर्दा चिसोबाट जोगिन आगो ताप्ने गरेका छन् । तर, सबैले न त आगो तापेर बस्न नै भ्याउँछन् । आगो ताप्न भ्याए पनि उनीहरूले न त दाउरा नै पाउँछन् । दिनभरि बनिबुता गरेर बिहान बेलुका छाक टार्नेहरूका लागि यो जाडो जीवनको अप्ठ्यारो पहाड झैँ बनेको छ । विपन्न असहायलाई कठाङ्ग्रिँदो चिसोमा काम गर्न जाऊँ ! ठन्डीले ज्यान जाला भन्ने पिर, काम गर्न नजाऊँ ! बिहान बेलुका हातमुख जोर्न नपाइएला कि ! भन्ने पिरले सताएको छ ।
शितलहर र बाक्लो हुस्सुका कारण ज्याला मजदुरीका लागि घरबाहिर जानुपर्नेलाई झनै सताउने गरेको छ । शितलहरसँगै बढेको चिसोले खास गरी गरिब, विपन्न, असहाय, बालबालिका र वृद्धवृद्धालाई बढी समस्या हुने गरेको छ । स्वस्थ र सामान्य व्यक्तिलाई पनि मधेस तराईको शितलहर र चिसोले प्रभावित बनाएको छ ।
शितलहर चलेसँगै मानिसको चहलपहल घटेको छ । चिसोको मौसममा बृद्धबृद्धालाई न्यानो कपडा तथा पौष्टिक खानेकुरा आवश्यक पर्छ । तर न्यानो नाना र छाना अनि पौष्टिक खानाको अभावमा उनीहरूलाई झनै समस्या भएको छ । चिसोबाट जोगिन गरिब विपन्नहरूको फुसको घरमा परालको आगो ताप्नुपर्दा आगलागीको पनि जोखिम हुने गरेको छ । धुवाँले स्वास्थ्यमा पनि असर गर्ने डाक्टरहरू बताउँछन् । विपन्नका लागि सरकारले राशन, लत्ताकपडाको व्यवस्थापन गर्नुपर्ने तथा ठाउँ ठाउँमा आगो बाल्न दाउरा उपलब्ध गराइदिनुपर्ने बाराको परवानीपुर गाउँपालिका वडा नम्बर–५ मदनप्रसाद पटेल बताउनुहुन्छ ।
गर्मी, चिसो वा प्राकृतिक विपत्तिले विपन्नलाई बढी सताउने गरेको छ । जलवायुको प्रभावबाट सृजित समस्या, प्राकृतिक प्रकोप लगायतका सबै विपत्तिको चपेटामा सधैँ गरिब नै पर्ने गरेका छन् । चिसोबाट प्रभावित नागरिकलाई राहत दिनु त परको कुरा, गरिबको नाममा आएका सेवा सुविधा पनि धनीले खाइदिने गरेको विपन्न समुदायका नागरिकको गुनासो छ । सरकारले वितरण गर्ने राहतमा आर्थिक अवस्था कमजोर भएकाले भन्दा सम्पन्न र धनीहरूले नै बढी लाभ लिने गरेको बारा परवानीपुरकै संकलिया देवीको गुनासो छ ।
मुलुकमा तीन तहको सरकार बनेको छ । विपद्मा परेकालाई हेर्नुपर्ने पहिलो प्राथमिकता सबैभन्दा नजिकको स्थानीय सरकारले हो । तर, हरेक हिउँदमा होस या वर्षामा दोहोरिने यो समस्याबाट बचाउन स्थानीय सरकारले चासो नदिएको स्थानीय बासिन्दा बताउँछन् । स्थानीय सरकार गठन भएपछि पनि कमजोर आर्थिक अवस्था भएका नागरिकलाई स्थानीय सरकारले केही सहयोग नगरेको बरु धनीले नै सुविधा लिने गरेको नागरिकको गुनासो बढेको छ ।
शितलहरबाट मधेसको बर्सौँदेखिको समस्या भए पनि यसबाट जोगिने उपाय खोज्न स्थानीय सरकारले कुनै योजना बनाएका छैनन् । उनीहरूले योजना त बनाउने गरेको बताए पनि योजना भने बनाउने गरेका छैनन् । विपद् व्यवस्थापनका लागि स्थानीय तहको सरकारले विपद् व्यवस्थापन समिति गठन गर्ने व्यवस्था रहेको छ । तर, स्थानीय तहको विपद् व्यवस्थापनमा न त स्थानीय सरकारको चासो छ न चिन्ता नै । अब बस्ने गाउँपरिषद्मा यसबारे कुरा उठाउने पर्साको विन्दवासिनी गाउँपालिका अध्यक्ष प्रमोद तिवारीको भनाइ छ । अब बस्ने गाउँपरिषद्मा कुरो उठाएर त्यसले गर्ने निर्णय पछि कुनै राहत पाउने सम्भावना नै नरहेको स्थानीय बासिन्दाको भनाइ छ । शितलहर सुरु भएपछि कुनै कुनै पालिकाले घुर बाल्नका लागि दाउरा दिने, एक दुई दर्जन कम्बल बाँड्ने र विद्यालय विदा गर्ने परम्परा जस्तै बनेको छ । स्थानीय सरकारले दीर्घकालीन उपाय नअपनाउँदा मधेसका खास गरी विपन्न नागरिक बर्सेनि चिसोको पिडा भोग्न बाध्य छन् ।
प्रकाशित मिति: सोमबार, माघ १, २०८०, ०८:४६